समृद्ध नेपाल निर्माणका लागि एमालेको नेतृत्व आवश्यक: उपमहासचिव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । उहाँले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देस बिकासको नेतृत्व एमाले बाटमात्र सम्भव रहको बताउनुभयो ।

नेकपा (एमाले) को तनहुँ–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको शुभकामना तथा निर्वाचन केन्द्रित कार्यक्रम’को उद्घाटन गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभएको हो । “समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले अवसरवादका लागि एमाले फुटाएको आरोप समेत लगाउनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् सांसद केदार सिग्देलले पार्टीभित्र एकता कायम राख्दै नेकपा एमाले आगामी निर्वाचनमा अगाडि बढ्नुपर्ने बताउनुभयो । देश, राष्ट्रियता र समृद्धिका लागि एमालेले हालसम्म गरेका कामलाई जनतामाझ लैजान सकेमात्र आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने उहाँको भनाइ थियो ।

एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले समानुपातिकमा तनहुँ वञ्चित भएको भन्दै आगामी निर्वाचनमा तनहुँबाट समानुपातिकमा प्रतिनिधित्व गर्नुपर्ने बताउनुभयो ।

एमाले नेता एवम् गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले नयाँ कार्यक्रमलाई लिएर आगामी निर्वाचनमा एमाले जनताको घरमा जानुपर्ने धारणा राख्नुभयो । उहाँले गठबन्धनभन्दा एमाले कमजोर नरहेको बताउनुभयो । आर्थिक समृद्धि अबको आवश्यकता भएको उहाँको भनाइ थियो ।

नेकपा एमाले तनहुँका नेता रत्नकुमार श्रेष्ठले तनहुँको विकासको नेतृत्व एमालेले लिने बताउनुभयो । सम्पर्क मञ्चका अध्यक्ष बुद्धि मिश्रले आगामी निर्वाचनमा एमालेलाई जिताउन काठमाडौँ बसोबास गरेका तनहुँवासी आजैदेखि लाग्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...