झापामा एमालेले उम्मेदवार टुंग्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेले उम्मेदवार टुंग्याएको हो । एमालेले झापाका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा उम्मेदवारी दिनेछ । एउटा निर्वाचन क्षेत्रमा राप्रपालाई सघाउने एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिए । प्रदेशसभाका १० निर्वाचन क्षेत्रमध्ये ८ वटामा एमालेले उम्मेदवारी दिनेछ भने दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राप्रपालाई सहयोग गर्ने समझदारी भएको कार्कीले बताए ।
एमालेले झापा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वकानुन मन्त्री तथा पूर्वमहान्यायधिवक्ता अग्नी खरेललाई उम्मेदवार बनाउने भएको छ । उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग प्रतिस्पर्धा गर्ने निश्चित छ । यो निर्वाचन क्षेत्रबाट पूर्वसांसद् रविन कोइरालाको मात्र नाम पार्टीको तल्लो कमिटीले सिफारिस गरेको थियो । उनी ०७० को निर्वाचनमा यहाँबाट निर्वाचित भएका थिए । ०७४ मा माओवादीसँग गठबन्धन हुँदा माओवादीका राम कार्की निर्वाचित भएका थिए । कोइराला एमालेभित्रका दश बुँदे पक्षधर हुन् । उनलाई निर्वाचन क्षेत्र १ प्रदेशसभा ‘क’का लागि एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि प्रदेशसभामा निर्वाचन लड्न कोइराला तयार छैनन् । उनले प्रतिनिधिसभा नै दाबी गरिरहेका छन् । निर्वाचन क्षेत्र १ को प्रदेशसभा ‘ख’ मा भने राप्रपालाई सहयोग गर्ने सहमति भएको अध्यक्ष कार्कीले बताए ।
यस्तै, क्षेत्र नम्बर २ मा एमालेका केन्द्रीय सदस्य देवराज घिमिरेले टिकट पाउने भएका छन् । यो क्षेत्रबाट अग्नी खरेल र घिमिरेको नाम सिफारिस भएको थियो । अग्नीलाई क्षेत्र नम्बर १ मा टिकट दिएर क्षेत्र नम्बर २ मा घिमिरेलाई दिएको हो । यो क्षेत्रबाट पार्टीको तल्लो कमिटीले निवर्तमान सांसद् पवित्रा निरौला खरेलको नाम पनि सिफारिस गरेको थियो । उनी एमालेभित्र दश बुँदे पक्षधर भएका कारण उनी यसपटक चुनावी प्रतिस्पर्धाको रिङ बाहिरै छिन् । झापा–२ ‘क’ एकराज कार्की र ‘ख’ मा चिन्तन पाठकलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।
झापा–३ मा भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले सघाउने भएको हो । यो निर्वाचन क्षेत्रमा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र लिङ्देनको प्रतिस्पर्धा हुने निश्चित छ। ०७४ मा लिङ्देनले एमाले र माओवादीसहितको गठबन्धनबाट निर्वाचन जितेका थिए । झापा–३ ‘क’मा एमालेले बस्नत बानियाँ र ‘ख’ मा छविलाल चुँडाललाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष कार्कीले बताए । यद्यपि क्षेत्र–३ को दुवै प्रदेशसभामा भने उम्मेदवार हेरफेर हुन सक्ने उनले बताए ।
झापा–४ मा एमालेबाट एलपी सावाँ उम्मेदवार बन्ने भएका छन् । झापा–४ ‘क’ एमालेका राधाकृष्ण खनालले टिकट पाउने भएका छन् । झापा–४ ‘ख’ मा भने राप्रपालाई सघाउने निर्णय भएको अध्यक्ष कार्कीले जानकारी दिए । यस्तै, झापा–५ मा भने एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रतिस्पर्धा गर्नेछन् । झापा–५ ‘क’मा एमालेका हिकमतकुमार कार्की र ‘ख’ मा होमबहादुर थापाले टिकट पाएको अध्यक्ष कार्कीले बताए ।