रूपन्देहीमा भौतिकसँगै मानवीय विकासमा केन्द्रित छौँ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीमा भौतिकसँगै मानवीय विकासमा आफू केन्द्रित रहेको बताएका छन् । एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को वडा भेलालाई शनिवार बिहान सम्बोधन गर्दै नेता पौडेलले भौतिक विकासमा रूपन्देही धेरै अगाडि पुगिसकेकोले अब आफूहरू मानवीय विकासमा लागेको बताए ।

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका प्रभावशाली नेता पौडेलले जिल्लालाई भौतिक र मानवीय दुवै विकासले अग्रणी बनाउने बताए । रूपन्देही–२ मा चुनाव जित्न एमालेलाई कसैसँग प्रतिष्पर्धा नभएको बताउँदै सबैभन्दा धेरै मतान्तरले जित्ने दौडमा एमाले रहेको पौडेलको भनाइ थियो । गएको निर्वाचनमा एमालेका उम्मेदवार सबै दोब्बरजस्तै मतान्तरले जितेको बताउँदै यो पटक त्यस मतान्तरलाई अझै बढाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘एमाले जितको प्रश्न होइन रेकर्ड ब्रेक गर्न चाहन्छ’, नेता पौडेलले भने ।

गएको पालिका निर्वाचनको मत परिणामप्रति लक्षित गर्दै पौडेलले भने, ‘सधैँ हिँडिरहेको आँगनमा पनि कहिलेकाही चिप्लिएर लडिन्छ । तर, पालिका चुनावको नतिजाले एमाले नेता÷कार्यकर्तालाई पाठ सिकाएको छ । यो चुनावमा २०७४ को प्रतिनिधि सभा/प्रदेश सभा मत परिणाम ब्रेक गर्ने गरी नेता/कार्यकर्ता लाग्नुपर्छ ।’

रूपन्देही क्षेत्र नम्बर २ (२) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफूले सधैं युवालाई प्राथामिकता दिएर अगाडि बढ्ने बताए । ‘बुटवलमा अबको विकास भौतिकसँगै मानवीयको पनि हुनेछ । म सधै सामाजिक रुपान्तरण लाग्दै युवालाई प्राथमिकताका साथ अगाडि सार्ने मेरो सोच छ’, श्रेष्ठले भने ।

कार्यक्रममा एमाले वडा इन्चार्ज युवराज घिमिरेले पार्टीका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन सबै पार्टीका कार्यकर्ताहरूलाई मिहिन ढंगले जुट्न आग्रह गरे । सो अवसरमा राष्ट्रिय जनमोर्चा छाडेर एमाले प्रवेश गरेका शिव खनाल र प्रदीप खनाललाई उपाध्यक्ष पौडेलले पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा बोल्दै शिव खनालले देशको बलियो नेतृत्व गर्ने पार्टी एमालेमात्र देखेर आफूले एमालेमा प्रवेश गरेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...