लोपोन्मुख हुँदै मकै थाङ्ग्रो

ग्रामीण क्षेत्रमा तीनदशक अघि घर छेउकै मकैको थाङ्ग्रोको आकारबाट व्यक्तिको आर्थिक हैसियत मापन हुन्थ्यो । गाउँ घरमा कमै मात्र देखिए पनि मकैको थाङ्ग्रोले आर्थिक हैसियत मापन गरेको पाइँदैन । पछिल्लो समय मकैको थाङ्ग्रो राख्ने परम्परा लोप हुँदै गएको छ ।

मुख्य गरी विवाहको लागि केटी माग्न जाँदा होस् वा छोरी दिँदा, केटाको पक्षको आर्थिक हैसियत मकैको थाङ्ग्रोबाट मापन गरिन्थ्यो तर अहिले त्यसको ठीक उल्टो भएको छ । आर्थिक हैसियत मापन गर्ने विधि नयाँ आएको छ । यसको ठूलो मकैको थाङ्ग्रो त्यस घर धनी मानिन्थ्यो । अनि विवाहको तयारी सुरु हुन्थ्यो । अहिले विवाहको लागि केटी माग्न जाँदा केटाको पढाइ र पेसाको बारेमा सोधिन्छ र अनि मात्र विवाहको फैसाल गर्न थालिएको फुङ्लिङ नगरपालिका–३ केनेम गाउँका ८१ वर्षीय भगिरथ भट्टराईले बताउनुभयो ।

“हामीले छोराछोरीको विवाह गर्दा पनि मकैको थाङ्ग्रो हेरेर विवाह गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले नाती नातिनाको बिहे गर्दा पेसा, पठाइ सोध्न थालिएको छ । जसले पढेको छैन । विदेश गएको छैन । उसको बिहे नै नहुने जस्तो भएको छ ।” विगतमा मकैको थाङ्ग्रो भनेको जो कुनै घर परिवारको आर्थिक हैसियत पत्ता लगाउने माध्यम भएकाले जसको ठूलो थाङ्ग्रो छ । उसको धेरै जग्गा जमिन भएको धनी व्यक्ति मान्ने परम्परा रहेको भट्टराईले बताउनुभयो ।

अहिले समय परिवर्तन भएको छ । पहाडी क्षेत्रमा अझै पनि मकै भण्डारण गर्न आगनमा थाङ्ग्रो राख्न परम्परा लोप हुँदै गएको छ । प्रमुख खाद्यन्न बाली मानिने मकै ताप्लेजुङको पहाडी क्षेत्रमा सिँचाइ सुविधा नभएको धेरै जसो ठाउँमा मकै खेती गरिन्छ । विगतका वर्षहरुमा पहाडी क्षेत्रका प्रायः प्रत्येक किसानका घर आँगनमा अग्लो थाङ्ग्रो देखिन्थ्यो ।

विगतमा कति कोठाको मकैको थाङ्ग्रो लगाएको छ त्यो देख्न बित्तिकै परिवारको मेहनती, आर्थिक तथा सामाजिकरुपमा अवल परिवार मान्ने परम्परा रहेको पाथीभरा याङवरक गाउँपालिका–१ खेमराज गुरुङले बताउनुभयो । आँगनमा बाँस अथवा काठको माच बनाएर खोसेलासहितको मकैका घोगालाई मिलाएर राखेको थाङ्ग्रो भनिन्छ ।

फक्ताङलुङ गाउँपालिका–६ सन्तकुमार लिम्बूले भन्नुभयो, “पहिला पहिला बाबुबाजेले मकैकै थाङ्ग्रा देखाएर विवाह गर्नुभयो रे अहिले मकैको थाङ्ग्रो देखाएर छोरा नातिको बिहे हुँदैन । अहिले मकै खेती गर्न छोडदै गएको लिम्बूले बताउनुभयो । खासमा मकैलाई थाङ्ग्रो बनाएर राख्दा घामले चाँडै सुक्ने, धुनपुतली, मुसा नलाग्ने बैज्ञानिक कारण भएकाले थाङ्ग्रो लगाउने परम्परा रहेको छ । गाउँभरि देखिने मकैको थाङ्ग्रोले सुन्दरता दिएको हुन्छ । वर्षभरिका लागि अन्नको जोहो गरेको सङ्केत पनि प्रष्ट पाइन्छ । कसैका थाङ्ग्रो ठूला छन् त कसैका साना । कुनै समय थाङ्ग्रोको आकारले समाजमा आर्थिक हैसियत निर्धारण गर्दथ्यो । बिहावारीको फैसाला गर्ने एउटा माध्यम मकैको थाङ्ग्रो पनि एक भएको स्थानीयको भनाइ रहेको छ ।

थाङ्ग्रो बनाएर मकै भण्डारण गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने यकिन जानकारी नभए पनि पूर्वी पहाडी जिल्लामा धेरै वर्षअघिबाट मकै खेती सुरु भएको इतिहास पाइन्छ । थाङ्ग्रो बनाएर राखेको मकै सुकेपछि जातोमा पिसेर च्याख्ला बनाई खाने र भुटेर खाजा खाने चलन छ । त्यही भएकाले सुरक्षित राख्न र बीउको संरक्षण गर्न थाङ्ग्रो बनाउने प्रचलन कायम छ तर त्यही थाङ्ग्रो आर्थिक हैसियत मापन गर्नेमध्ये अहिले पाइँदैन ।

जिल्लामा मकै बालीतर्फ चालु आवमा ५७ हजार नौ सय ८८ मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो । मकै १६ हजार एक सय ९८ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । गत वर्ष सोही क्षेत्रफल बराबरको खेतीबाट ५८ हजार तीन सय १२ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...