पाेखरा, मंसिर २५ गते ।अन्नपूर्ण गाउँपालिका —११ छोम्रोङमा सेन्चुरी युवा क्लबले २१ औं सेन्चुरी ल्होसार मेला आयोजना गर्ने भएको छ ।
तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पौष १० गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।
उनले साँस्कृतिक जगर्नेसहित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको १० गतेदेखि मेला राखेका छौ । यसले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास लिएका छौं ।
उनका अनुसार सो मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, थ्री अन थ्री बास्केटबल प्रतियोगिता, ठेलो हान्ने, रस्साकस्सी, घैटो फुटाउने, म्युजिकल चियर लगायतका प्रतियोगिता समावेश गरिएको छ ।
उनले पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । गुरुङका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबल तर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउन भलिबल र बास्केटबलको लागि ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबलको लागि ३ हजार दर्ता शुल्क तोकिएको छ ।
मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसहितअन्नपूर्ण व्याण्डले लाइभ कन्सर्ट गर्ने आयोजकले जनाएको छ ।
