गण्डकीमा एमाले नेतृत्वको सरकार गठनका लागि आज दाबी पेश गरिँदै

गण्डकी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठनका लागि आज दाबी पेश गरिदै छ ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने तयारी भएको एमाले केन्द्रिय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन् ।

 

केन्द्रमा बसेको सत्तारुढ दलको साझा बैठकले गण्डकी प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएको छ ।

 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय आज अपराह्न चार बजे सकिँदै छ । सोमबार बिहान तीन दलको बैठक बसेर दाबी पेश गर्ने समय छुट्याइने सचिव अर्यालले बताइन् ।

 

गण्डकीमा सत्तारुढ दल एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । मुख्यमन्त्रीको लागि एमाले र माओवादी दुवैको दाबी थियो । गण्डकी प्रदेशसभामा एमाले दोस्रो ठूलो दलको हैसियतमा रहेको छ । १२ प्रत्यक्ष र १० समानुपातिक गरी एमालेका २२ सिट रहेका छन् ।

 

५ प्रत्यक्ष र ३ समानुपातिक गरी ८ सिटसहित गण्डकीमा माओवादी तेस्रो स्थानमा रहेको छ भने, राप्रपा समानुपातिकबाट २ सिट ल्याएर सहभागी भएको छ । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सिट आवश्यक पर्दछ । सरकार गठनका लागि तीन दललाई बहुमत पुग्नेछ ।

 

केन्द्रमा काँग्रेस नेतृत्वको पाँच दलिय गठबन्धन भत्किएपछि नयाँ गठबन्धन बनेपछि केन्द्रमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि  गण्डकीमा सरकारकाे नेतृत्व एमालेले पाएकाे छ ।

 

एमालेबाट खगराज अधिकारी मुख्यमन्त्री बन्ने छन । आज दिउसाे मुख्यमन्त्री दावी गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...