पोखरा, माघ २९ गते ।पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने भएको छ । ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्याण्डले १६ औं महाशिवरात्री विश्वसंगीत महोत्सवको आयोजना गरेको हो । कार्यक्रममा पोखरा लेकसाइड स्थित बाराही घाटमा हुनेछ ।महाशिवरात्रीको समयमा आयोजित सांगीतिक कार्यक्रममा यसपाली अमेरिका, जापान, भारतका कलाकारको प्रस्तुति रहने नमस्ते ब्याण्डका अध्यक्ष एवम् महाशिवरात्री विश्वसंगीत दिवसका परिकल्पनाकार इश्वर गुरुङले जानकारी गराए ।
मर्करी ब्याण्ड, पिसजोन ब्याण्ड, अपुर्व, दिप श्रेष्ठ, राजु परियार, रब्नि एण्ड रेगुलेसन, मुक्ती एण्ड रिबाइबल, स्ट्रिम एण्ड एन्जन्र्स, मङ्गोलियन हार्टका राजु लामा,राजेश पायल राई, यम बराल लगायतका कलाकारको उपस्थिति रहने भनाई उनको छ । ‘देखेर तिमिलाई‘’,‘लजाएर‘’ लगायतका गीतका गायक एवम् संगीतकार सुजन चापागाईलाई कार्यक्रममा सम्मान गर्न लागिएको छ । जसमा उनको प्रस्तुति समेत रहने उनले बताएका छन् । ‘महाशिवरात्री महोत्सव कलाकारको उत्सव हो । नेपालका चर्चित कलाकारको उपस्थिति त्यो दिन रहन्छ । हामीले यसलाई व्यवसायिक भन्दा पनि सामाजिक एवम् धार्मिक आस्थाका रुपमा लिएका छौं । हाम्रो हरेक कार्यक्रमको एउटा उद्देश्य हुन्छ । जसलाई सफल बनाउन पोखरेली दर्शकको न्यानो माया आजसम्म मिलेको छ ।’,उनले भने ।
ब्याण्डको वार्षिक उत्सवमा गुरुङले वर्षेनी महाशिवरात्री अवसर पारेर सांगीतिक कार्यक्रम समेत गर्दै आएका छन् । ‘हामीले कुनै कमाउने उद्देश्यले कार्यक्रम राखेका होइनौं । हाम्रो उद्देश्य भनेकै नेपाली संगीतको प्रवद्र्धन हो ।’, उनले भने ।शिवरात्रीकै समयमा पारेर जापानमा समेत यसअघि ४ पटक सम्म उक्त कार्यक्रमको आयोजना गरिसकिएको छ । महोत्सव प्रवेशका लागि टिकट काट्नुपर्नेछ । सबै दर्शकले आत्मसात् गर्ने गरी टिकट शुल्क निर्धारण गरिएको गुरुङले बताए ।
कोभिडका कारण बीचमा कार्यक्रमले निरन्तरता नपाए पनि अबको समयमा निरन्तरता दिने प्रतिबद्धता उनको छ । नमस्ते ब्याण्डले नेपाली गीत संगीतको सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमका संयोजक शिवजी भट्टराईले बताए । सम्पूर्ण कलाकारहरुलाई एकीकृत गर्दै नेपाली गीतसंगीतलाई माथि उठाउन इश्वर गुरुङको योगदान अतुलनीय रहेको अभिव्यक्ति उनको छ । महाशिवरात्री विश्वसंगीत महोत्सव कलाकारको जमघट गर्ने थलो भएको भनाई उनको छ । सहसंयोजक नारायण भण्डारीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । उनका अनुसार कार्यक्रम मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । कार्यक्रम सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने उनले उल्लेख गरेका छन् ।