शुक्रबारबाट रिलिज हुने ‘बगान’ एकल महिलाको कथा

पोखरा ।आगामी शुक्रबारबाट रिलिज हुने ‘बगान’ एकल महिलाको कथा भएको निर्देशक एवम् कलाकार सरोज खनालले बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकल महिलाहरुको कथालाई उठान गरिएको सुनाए ।

‘बगान एकल महिलाको कथा हो । हाम्रो समाज पितृसतात्मक समाज हो । अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । बगानमा यस्तै सामाजिक विषयलाई उठाएका छौं ।’, उनले भने ।एकल महिलाका कथालाई दबाएर राख्न हुदैन भन्ने लागेर नै बगान बनाइएको भनाई उनको छ । खनालले समाजमा पछाडि परेको विषयलाई अगाडि ल्याउने उद्देश्य सहित सिनेमा निर्माण गरिएको जनाए ।

 

‘४० वर्ष भयो म सिनेमा क्षेत्रमा लागेको । एकल महिलालाई हिजो हाम्रो समाजले जुन रुपले हेथ्र्यो आज पनि उस्तै छ जस्तो लाग्छ । एकल महिलालाई पनि यो समाजमा जिउने अधिकार छ । उनीहरुका पनि आफ्ना समस्या छन् । जसलाई बगान मार्फत उठाउने प्रयास गरिएको छ ।’, उनले भने ।

 

खनालले समाज परिवर्तनका लागि बुबा भन्दा आमा शिक्षित हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । करिश्मा मानन्धरको जीवनी बगानको कथासँग मिल्ने भएकाले मुख्य भूमिकामा राखिएको उनले बताए ।उनले बगानको कथा नयाँ भएको दाबी गरेका छन् । ‘करिश्मा जीले हालसम्म दुई सय भन्दा बढी सिनेमामा अभिनय गर्नुभयो होला । ती सबै सिनेमामा उहाँ नायिकाको भूमिकामा मात्रै सिमित रहनुभयो । तर बगानमा करिश्मा जी नै मुख्य भूमिकामा हुनुहुन्छ । यो नै दर्शककाका लागि रोचक र नयाँ लाग्न सक्छ ।’, उनले भने । नायिकालाई शो पिसका रुपमा मात्र हेर्न नहुने धारणा उनको छ ।

 

दर्शकले नेपाली कथावस्तुलाई नै मन पराएकाले बगान चल्नेमा उनी विश्वस्त छन् । समाज भन्दा बाहिरका सिनेमा हलमा नचलेको र अर्गानिक कथावस्तुलाई नै रुचाइएको उनले बताए । उनले सिनेमामा समस्या मात्र देखाउने भन्दा पनि समाधानको बाटो समेत पहिल्याउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । बगानमा समस्या सँगै समाधान पनि भएको अभिव्यक्ति उनको छ ।

 

सिनेमाको करियरमा नै आफुले ३१ सिनेमामा अभिनय गरेको र १९ सिनेमाले एक सय दिन मनाएको हुँदा निर्मातालाई कसरी जोगाउने विषयमा राम्रो ज्ञान भएको दाबी उनको छ । दर्शकको रोजाईको सिनेमा बगान बन्ने अपेक्षा उनले गरेका छन् ।

 

अभिनेत्री करिश्मा मानन्धरले बगान आफ्ना लागि महत्वपूर्ण सिनेमा भएको उल्लेख गरिन् । उनले बगान समाजको ऐना भएको बताइन् । ‘बगान समाजको ऐना हो । एकल महिलाले भोग्नुपरेका पीडा लाई उजागर गर्न सिनेमाले मदत पुर्याएको छ । समाजले बुझ्ने र आफ्नोपनको महशुस गर्ने गरी सिनेमा निर्माण भएको छ ।’, उनले भनिन् ।

 

पोखराका दर्शकले आफु र आफ्ना सिनेमालाई सदैव माया गरेको र बगानलाई समेत माया गर्नेमा आशावादी रहेको उनले बताइन् ।बगानबाट नै डेब्यू गरेकी अभिनेत्री प्रमिला कार्कीले श्रीमानले लगानी गरेको भएर आफु सिनेमामा नआएको प्रष्ट पारिन् । उनले सिनेमाको कथा मन परेकाले तयार भएको बताइन् । अभिनय सिकेर नै उक्त क्षेत्रमा आएको र आगामी समयमा समेत सिनेमा क्षेत्रमा नै निरन्तरता दिने लक्ष्य रहेको भनाई उनको छ ।

 

बगानमा सरोज खनाल, करिश्मा मानन्धर, प्रमिला कार्की अलवा आकाश श्रेष्ठ, निर शाह, बसुन्धरा भूसाल, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ । सुरेश वाग्ले बगानका निर्माता हुन् । सिनेमाको यसअघि टिजर, ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । केही समयको मोफसल दौड पश्चात बगान टीमले मंगलबार काठमाडौंमा प्रिमियर गर्दैछ ।  

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...