पोखरा, साउन ७ गते । पोखराको पृथ्वीचोकदेखि चाइना पुलसम्मको सडक दायाँबायाँ सवारी पार्किङमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति कास्कीको निर्णय तथा पोखरा महानगरपालिकाको व्यवस्थापनमा पृथ्वीचोकदेखी चाइनापुल सम्म सडकको दायाँबायाँ हुँदै आएको पार्किङ हटाइएको हो ।
सडक छेउमा हुने पार्किङका कारण सवारीको आवागमनमा असहजता सहित दुर्घटनाको समेत जोखिम बढेपछि महानगरपालिकाले त्यस क्षेत्रको अनधिकृत पार्किङ हटाइएको हो ।पृथ्वीचोकबाट छुट्ने छोटो तथा लामो लामो दुरीका बसहरु बसपार्क बाट नै छुट्ने छुटाउने व्यस्थापनका लागि महानगरपालिकाले व्यवसायीहरुसँग समन्वय गरिरहेको छ ।
त्यस स्थानको पार्किङ हटाउनका लागि यस अघि नै महानगरले सूचना समेत जारी गरेको थियो । आईतबार पोखरा महानगरपालिका, ट्राफिक प्रहरी, स्थानीय र व्यवसायीहरु समेतको सहयोगमा हटाइएको हो । यता पार्किङ हटाउने निर्णय विरुद्ध यातायात ब्यवसायीले असन्तुष्टि ब्यक्त गरेका छन् । बसपार्कको व्यवस्थापन विना पार्किङ हटाउने निर्णय कार्यान्वयन हुन नसक्ने चेतावनी दिएका छन् ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बिना तयारी जिल्ला सुरक्षा समिति र पोखरा महानगरले पूर्वाविग्रही पूर्ण निर्णय गरेका विरुद्ध लामो तथा छोटो दुरीका साथै ग्रामीण कच्चि सडकको सेवा बन्द गर्न बाध्य बनाएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । यो निर्णयसंगै ब्यवसायी र सरकारी निकाय वीच द्धन्द्ध उत्पन्न हुने अवस्था सृजना भएको छ ।
पोखरा महानगरपालिकाले सडकमा पार्किङ गर्न नदिने निर्णयबाट पछि हटेजस्तै यो निर्णय पनि कार्यान्वयन हुनेमा आशंका देखिएको छ भने निर्णय कार्यान्वयन भए पृथ्वीचोक देखि चाइनपुलसम्मको बाटो फराकिलो र सफा हुने हुदाँ कार्यान्वयन गर्नुपर्ने बटुवा प्रकाश थापा भन्छन् ।