पोखरामा ‘दुई नाटक’ मञ्चनकाे तयारी

पोखरा,  साउन ८ गते ।पछिल्लो समयमा विद्यार्थीको रुचि नाट्य क्षेत्रमा बढ्न थालेको छ । नाटक मार्फत शैक्षिक तथा व्यवहारिक ज्ञान रमाइलो तरिकाले जान्न पाउँदा उनीहरुको रुचि यसतर्फ बढ्न थालेको हो । यही क्रममा विद्यार्थीलाई लक्षित गरेर पोखरामा नाटक मञ्चन हुने भएको छ ।

कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर ‘दुई नाटक’ शिर्षकमा नाटक मञ्चन गर्न लागिएको हो । पोखरा थिएटरको प्रस्तुतीमा यहीं साउन १४ गते आइतबारबाट गन्र्धव नाटकघरमा यो नाटक मञ्चन हुनेछ । नाटक मञ्चनको लागि रिहर्सल सुरु भएको पोखरा थिएटरले जनाएको छ ।

 

 

भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा यो नाटक तयार गरिदैछ । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागिएको बताए । यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको भनाइ छ ।

 

 

‘यो नाटकले विद्यार्थीको लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ’ पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनले भने ।नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ । उनीहरु यतिबेला आफ्नो भुमिकालाई आर्कषक बनाउन रिहर्सलमा व्यस्त छन् ।

 

 

नाटकलाई सुन्दर बनाउन रमेश बाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुसन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिष्ट म्यानेजरको रुपमा सघाउनेछन् ।

 

 

यसैगरी पोष्टर तथा स्केचमा अमृत परियार र मनोज तामाङ्ग, डिजाइनमा दयाराज ढुंगाना, मञ्च व्यवस्थापकमा रोशनी रामदाम, बजार व्यवस्थापकमा प्रकाश पराजुली, मञ्च निर्माणमा धनकाजी श्रेष्ठ, रोहित पौडेल, अमृत परियार र मिलन श्रेष्ठ तथा बक्स अफिसमा रहेर शुभेक्छा शर्माले साथ दिनेछन् ।

 

 

एक घण्टा अवधिको यो नाटक मुख्य रुपमा बुकिङ सो मार्फत मञ्चन गर्ने थिएटरको तयारी छ । यसका अलावा पब्लिक सो मार्फत समेत दर्शकले नाटक हेर्न पाउने पोखरा थिएटरले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...