
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको टोली प्राधिकरण पुगी प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीलाई विद्युत उपभोक्ताले भोग्दै आउनु परेको समस्याका बारे अवगत गराउँदै ध्यानाकर्षण पत्र दिएका थिए । दिनमा होस् या रातमा जुनसुकै बखत विना जानकारी घरिघरि विद्युत अबरुद्ध हुँदा होटल क्षेत्र र सिंगो उपभोक्ताजगत सबैभन्दा बढी मारमा परेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले दुःखेसो पोखे ।
विद्युत अबरुद्ध हुँदा देशविदेशका पाहुनालाई आबश्यक सेवा उपलब्ध गराउन कठिनाई हुँदै आएको र यसका कारण प्राधिकरणमा भन्दा बढी फोन संघको कार्यालयमा आउन थालेको जानकारी दिंदै अध्यक्ष सुवेदीले त्यही भएर पनि विद्युत अबरुद्ध हुनको कारणबारे जानकारी लिन आफूहरु प्राधिकरण पुगेको बताए ।
सो अवसरमा संघका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले विद्युत सुविधा सहज रुपमा पाउन नसक्नु प्राधिकरणको लापरवाही र गैरजिम्मेवारपना भएको बताए । ‘जुन पिक आवर हुन्छ सोही समयमा बढी बत्ती जाने गरेको छ,’ उनले भने, ‘पानी पर्न थालेपछि त झन् बत्ती गैहाल्छ ।’ घरिघरि विद्युत अबरुद्ध हुँदा यसमा इन्भर्टर वा सोलार उपकरणसँग सम्बन्धित गिरोहको हात त छैन भन्ने आशंका उपभोक्तामा उब्जिएको उनले बताए । बत्ती गएको बेला होटलको लिफ्टमा सेवा लिइरहेका पाहुना विचमै रोकिंदा आतंकित हुने गरेको र गुनासो गर्ने गरेको दुःखेसो पनि उनले सुनाए ।
संघकी सचिव पार्वता पाण्डेले राइस कुकरमा खाना बसालेको केही मिनटमा नै बत्ती जाँदा पुनः अर्को भाँडामा चामल खन्याएर ग्याँसमा खाना पकाउनु पर्ने समस्या उपभोक्ताले भोग्नुपरेको बताइन् । छलफलका क्रममा संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश), सदस्यहरु पम्फा देवकोटा पहारी, महदत्त भुसाल, सरोज अधिकारी र संघका कार्यालय प्रमुख रामप्रसाद खनालले पनि विद्युत अबरुद्ध हुँदा होटल क्षेत्रले ठूलो क्षति भोग्दै आउनु परेको गुनासो राखेका थिए । विद्युत बढी उतपादन हुने बर्खा याममा लोडसेडिङ जसरी विद्युत जान थालेपछि विद्युत सहज उपोभोगका लागि आउने हिउँद कुर्नुपर्ने अवस्था आएको व्यवसायीले बताए ।
विद्युत सर्किटको आन्तरिक सेन्सर बढी तात्ने र थप तात्न नदिन ब्रेकरले विद्युत अबरुद्ध गरिदिने प्रक्रियालाई ट्रिपिङ भनिन्छ । ‘तपाइँहरु अब सकेकसम्म धेरै भन्दा धेरै विद्युत खपत बढाउनुस्, यो समस्या आफैं समाधान भएर जान्छ’, जोशीले होटलकर्मीहरुसँग भनेका थिए । प्रदेशका ११ जिल्ला उक्त प्रादेशिक कार्यालय मातहत रहेको बताउँदै उनले गण्डकी प्रदेशमा अहिले सात सय मेगावाट विद्युत उत्पादन हुँदै आएको तर खपत भने जम्मा ८० मेगावाट हाराहारी मात्र रहेको जानकारी दिए । पोखरामा मात्र यस्तो खपत ४० मेगावाट रहेको तथ्यांक पनि उनले सुनाए ।