र्‍यान्डमको शतक शृङ्खलामा ‘अन्तर’को चर्चा

पोखराभदौ ३० गते । पोखरामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको हो ।

उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महत्त्वपूर्ण कृति भएको दाबी गरे । सामाजिक विभेद तथा यौनिक अल्पसङ्ख्यकहरूका बारेमा जान्न चाहनेले यो कृति पढ्नैपर्ने उनको जिकिर थियो ।

‘सायनले अन्तरमार्फत् यस्तो संवेदनशील विषयलाई छोएका छन्, जसमा केही गलत लेखिँदा विभेदको र अपमानको पीडामा परेका वा पर्छु भनेर डराएकाहरूलाई थप पीडा दिन सक्छ’ उनले भने, ‘तर पूरै उपन्यास पढिसक्दा सायनले पीडा दिएका छैनन्, बरु उनीहरूको सम्मानित जीवन र उनीहरूको अस्तित्वको स्वीकार्यताको लागि आवाज बुलन्द बनाएका छन् ।’

 

 

मुद्दा र कला दुवैका दृष्टिकोणले ‘अन्तर’को सम्पूर्ण अन्तरकुन्तर सुन्दर रहेको कार्कीको भनाइ थियो । उपन्यासले समलिङ्गीले भोग्नुपर्ने अप्ठ्यारा र गर्नुपर्ने सङ्घर्षको कथा भनेको बताउँदै उनले उपन्यास सकेपछि समलैङ्गिकतालाई समस्या ठान्ने समाजको मनस्थिति नै समस्या हो भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

 

 

उपन्यासकार सायनले आफ्नै घरमा छोरा र छोरीका बिचमा देखेको विभेदबाट प्रभावित भएर फरक विषयमा कृति लेख्ने प्रेरणा पाएको सुनाए । कतिपय बौद्धिक वर्गका मानिसले नै समङ्गिी हुनुलाई प्राकृतिक कुरा नभई मानसिक समस्याका रूपमा लिने गरेको अनुभव सुनाउँदै उनले यस्तो सोच जटिल समस्या भएको बताए ।

 

पाठकहरूले राखेका जिज्ञासाको जबाफ दिँदै उनले सरल शैलीमा फरक लैङ्गिक विशेषता भएको वर्गको कथा लेखेको बताए । उनले यौनिकताका सम्बन्धमा सामाजिक मनोविज्ञान परिवर्तन हुनुपर्नेमा जोड दिए । कृतिका पात्रहरूले बोकेको चरित्रको अवस्था केही मात्रामा परिवर्तन भए पनि अझै पनि लुकिरहनुपरेको आफूले देखेको भन्दै सायनले कृति लेखनका क्रममा यौनिक अल्पसङ्ख्यकसँग प्रशस्त भेटघाट गरेको अनुभव सुनाए ।

 

आफ्नो अधिकारका लागि लड्नेहरूले सुन्दर समाज निर्माणका लागि अरूको अधिकारका बारेमा पनि सोच्नुपर्ने सायनको भनाइ थियो । यसअघि भागेर भूगोलभरि (कविता सङ्ग्रह) र छुटेका अनुहार (निबन्ध सङ्ग्रह) प्रकाशन गरिसकेका सायनको तेस्रो कृति ‘अन्तर’ बुक हिल प्रकाशनले केही समयअघि बजारमा ल्याएको थियो ।

 

 

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक गनेस पौडेलले र्‍यान्डमको मञ्चले लेखकलाई अझै खारिने अवसर प्रदान गर्दै आएको अनुभव सुनाए । फरक यौनिक अल्पसङ्ख्यकका विषयमा लेखिएको भए पनि सबैलाई छुने सामथ्र्य ‘अन्तर’मा आफूले पाएको पौडेलले बताए ।

 

 

लैङ्गिक अल्पसङ्ख्यक अगुवा रजनी थकालीले आम प्रचलनमा आएका रचना र चलचित्रहरूमा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई हाँसोको पात्र बनाइने गरेकोमा दुःख व्यक्त गरिन् ।

तेस्रो लिङ्गीको अवस्थामा क्रमशः परिवर्तन भएको अवस्था ‘अन्तर’मा देखाइएकोमा उनले धन्यवाद दिइन् । यस्ता विषयमा कृति तयार पार्दा सम्बन्धित पक्षसँग समन्वय गर्न पनि उनले आग्रह गरिन् ।

 

 

कार्यक्रममा रीता अधिकारी ‘ऋतु’, डा. भूमिराज बस्ताकोटी, गीता लामिछाने, प्रेम बाबा, तानिया क्षेत्रीलगायतले लेखकलाई प्रश्न राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...