चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

चितवन,  असोज १० गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दिन प्रतिदिन दुःखद घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।” गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उहाँले चिकित्सकहरूलाई काममा फर्कन अनुरोध गर्नुभयो ।

 

उहाँले थप्नुभयो, “हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो ।” शान्ति सुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उहाँको भनाइ थियो ।

 

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभयो । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्‍याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ ।”

 

यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उहाँको भनाइ थियो । शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

 

फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको धारणा राख्नुभयो । यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उहाँको भनाइ छ । पक्षपातपूर्ण तरिकाले काम भएको भन्ने गुनासो बढेपछि आफैंले यसलाई हेरिरहेको उहाँको भनाइ थियो । यसलाई चाँडै नै सहज बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...