पोखरा, असोज २८ गते ।विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव सुरु भएकाेछ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव सञ्चालन हुने छ ।
पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ ।
यसैबीच घटस्थापनाको दिन आज नवदुर्गा शोभायात्रा निकालिएकाे छ ।विन्ध्यवासिनी मन्दिरबाट सुरु शाेभायात्रा नालामुख, तेर्सापट्टी, पालिखेचाेक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्वार्थचाेक, हुँदै मन्दिर परिसरमा पुगेर टुंगिएकाे थियाे । शाेभायात्रामा नवदुर्गाकाे रथ सहित मन्दिर समेत बनाएर परिक्रमा गरिएको थियाे ।
शाेभा यात्रामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कास्की स्थित प्रमुख, विभिन्न संघ संस्थाकाे सहभागीता रहेकाे थियाे ।
शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिंगारिएका नवकन्यासहितको रथ, झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलशसहित मातृशक्ति, विभिन्न आमा समूहहरु, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैंक वित्तीय तथा सहकारी, शैक्षिक संघसंस्था, भजन समूह, उद्योग वाणिज्य तथा वस्तुगत संघलगायत सर्वसाधारणको उपस्थिति रहेकाे थियाे ।
यहाँ विन्ध्यवासिनी गुरुकुल विद्याश्रम पनि सञ्चालित छ । २०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निशुल्क आवासीयरुपमा अध्यापन कार्य सञ्चालित छ । अशक्त र ज्येष्ठ नागरिकको लागि लिफ्ट सुविधा समेत छ । विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत चलाएको समितिको एम्बुलेन्स सेवा पनि सञ्चालित छ ।