दसैँमा ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री

झापा, कात्तिक १२ गते ।   झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु. ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ ।

संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उहाँको भनाइ छ ।

 

उहाँका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट सङ्कलित खसीबोका काठमाडाैंसम्म लगेर बिक्री गरिएको थियो ।

 

संस्थाको कृषि क्षेत्रका प्रमुख डा. कमलेश्वर भाटले यसपालिको दसैँमा औसत ३० केजीका चार सयवटा खसीबोका बिक्री भएको जानकारी दिनुभयो । ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए ।

 

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथरमा ती खसीबोका बिक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रतिकेजी रु. पाँच सय ८० मा बिक्री गरिएको उहाँले जानकारी दिनुभयो ।

 

“हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गरिदिन्छौँ”, उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेका खसीबोका बजारीकरणमा पनि प्रत्यक्षरूपमा सघाउँछौँ । उनीहरूका खसीबोका किनेर बिक्री गरिदिन्छौँ ।”

 

संस्थाले छ जिल्लामा चार सयको सङ्ख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाइदिएको उहाँले बताउनुभयो । बाख्रापालक किसान र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको  समस्या नभएको उहाँको भनाइ छ ।

 

संस्थाले यसपालि दसैँंअघि जुम्लाबाट स्याउ किनेर आफ्ना सदस्यलाई बिक्री गरेको थियो । कर्णाली प्रदेशको स्याउलगायत विभिन्न उत्पादनको बजारीकरण र बीउबिरुवा उत्पादनमा संस्थाले सहयोग पुर्याउने नीति लिएको संस्थाका निर्देशक खतिवडाले बताउनुभयो ।

 

बाख्रापालक किसानलाई निःशुल्क प्राविधिक सहयोग पुर्याउन संस्थाले पशु चिकित्सकसहित १०  कर्मचारी परिचालन गर्दै आएको छ । एक लाख ५७ हजार नौ सय २० जना सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार एक सय ३०  ऋणी छन् । संस्थाबाट कृषि कर्जा लिनेको सङ्ख्यासमेत उल्लेख्य छ । रासस

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...