पाेखरा, पुस १९ गते ।वडाबासीलाई शारीरिक रुपमा स्वस्थ बनाउने उद्देश्यले पाेखरा महानगरपालिका वडा नम्बर १ ले सामुहिक ब्यायाम कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।
खेलकुद विकास समिति वडा नम्बर १ काे आयाेजनामा कार्यक्रम सञ्चालन गरिने वडा कार्यालयले जनाएकाे हाे ।आऔँ खेलौँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ सामूहिक व्यायाम कार्यक्रम गर्न लागिएकाे बिहिवार आयाेजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष सहारा प्रधानले जानकारी दिए ।
उनले वडाले नागरिकको स्वास्थ्यलाई मध्य नजर गरेर पुस २१ गते शनिबारदेखि प्रत्येक शनिबार बिहान ६:३० देखि ८:३० बजेसम्म सामुहिक ब्यायाम कार्यक्रम सञ्चालन गरिने बताए ।
खेलकुद विकास समितिका अध्यक्ष विष्णुकुमार गुरुङले कार्यक्रममा जुनसुकै उमेर समूहका व्यक्ति पनि सहभागी हुन पाउने र यसका लागि हाल दुईजना जुम्बाविज्ञ र एक जना योगा प्रशिक्षकको व्यवस्था गरिएको जानकारी दिए।
सहभागीहरूलाई प्रशिक्षकहरूले विभिन्न व्यायामहरू सिकाउनेछन्। हाललाई तीनदेखि पाँच सयको हाराहारीमा सहभागी हुने अपेक्षा रहेको र कार्यक्रमलाई पहिलो चरणमा ६ महिना सञ्चालन गरिने गुरुङले जानकारी दिए। त्यसको प्रतिफल हेरी आवश्यक सुधार गरी निरन्तरता दिइने बताइएको छ।
व्यायाम कार्यक्रम पोखरा– १ स्थित राष्ट्रिय माविको प्रांगण टुँडिखेलमा हुनेछ। पोखरा– १ का वडाध्यक्ष साहारा प्रधानले वडामा रहेका विद्यालय, विभिन्न संघ, संस्था, उद्योगी व्यवसायीहरूको सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।
शारीरिक व्यायाम र खेलकुदप्रति जनचेतना फैलाउने तथा वडावासीको स्वास्थ्य स्थितिमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रधानको भनाइ थियो।
खानपिनसँगै अन्य कारणले मानव स्वास्थ्यमा दिनानुदिन चुनाैती थपिँदै गएको अवस्थामा कार्यक्रमले शरीर स्वस्थ राख्ने कुराको जनचेतना जगाउन सहयोग गर्ने उनको दाबी छ।
कार्यक्रम सफल बनाउन वडाबासी सबैलाई सहयाेगका लागि वडा कार्यालयले आह्वान गरेकाे छ ।