२३ औँ आहा रारा गोल्डकमा दुुई विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने

एकराज गिरी/पोखरा, पुस २६ गते ।मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित अन्तर क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा दुुई विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

आयोजक सहारा क्लबले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सहभागी टिमको नाम सार्वजनीक गरेको हो । २३ औँ संस्कारण आउँदो माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालाको फुटबल मैदानमा सञ्चालन गर्ने तयारी गरेको छ । खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं भन्ने उद्घोषका साथ सहारा क्लबले विगत दुुई दशकदेखि रारा गोल्डकप गर्दै आएको छ ।

 

प्रतियोगितामा भारतको दिल्ली फुटबल क्लब र भुटानको पारो फुटबल क्लब सहभागी जनाउने पक्का भएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । ए डिभिजनका आठ टिम, मोफसल र आयोजकका एक–एकले सहभागिता जनाउने क्लब अध्यक्ष केशवराज बरालले जानकारी दिए।

 

ए डिभिजनका नेपाल प्रहरी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, सङ्कटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, जावलाखेल युथ क्लब र थ्री स्टार क्लब सहभागी हुनेछन् । नवलपुरको राईजिंग स्टार फुटबल क्लब र आयोजक सहारा क्लबको पनि सहभागिता रहनेछ ।

 

विजेतालाई १२ लाख, उपविजेतालाई ६ लाख रुपियाँ दिइने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । उत्कृष्ट पाँच विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपियाँ पुरस्कार दिइनेछ । म्यान अफ द म्याचलाई आठ हजार र फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी र १ करोड ४९ लाख ३ हजार खर्च हुने अनुुमान गरिएको महासचिव अधिकारीले बताए । प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने भएको छ । पोखरा १७ दोविल्लामा सञ्चालित सहारा एकेडेमीमा हाल ८ जिल्लाका १४ जना बालकहरु आश्रित रहेका छन् । उक्त एकेडेमी सञ्चालनको मुख्य स्रोत प्रतियोगिता रहेको क्लबले जनाएको छ । अघिल्लो संस्करणमा भुटानिज युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्लबले गोल्डकपको उपाधि जितेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...