पोखरा-थ्रीस्टार पाँच पटकको विजेता । त्रिभुवन आर्मी क्लब पाँच पटकको फाईनलिष्ट टोली । पोखराको मैदानमा शनिबार आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि भिडन्त यी दुई टोली बीच हुदैं छ ।
फरक यत्ति छ कि उपाधि उचालेर पोखराको मैदानमा दुईदशक देखिको खडेरी तोड्ने लक्ष्यमा आर्मी छ । उपाधिमा नाम लेखाउने सपना छ । थ्रीस्टार भने आर्मीलाई फेरी उपविजेतामै सीमित राखेर छैटौं पटक पोखरामा उपाधि उचाल्ने योजनामा छ ।
दुवैको उपाधि प्रतिस्पर्धा पोखराको मैदानमा फेरी एकपटक पुनराबृत्ति हुने छ । दर्शकले २०७५ सालको फाईनललाई सम्झने छन् । त्यतिबेला आर्मी पेनाल्टी सुटआउटमा थ्रीस्टारसँग पराजित हुदैं उपविजेतामा चित्त बुझाएको थियो । दुई विभागीय क्लबले उपाधि जितिसकेका छन् ।
क्लबको उपाधि भिडन्त भन्दा पनि गुरु र चेला बीचको रोचक फाईनल प्रतिस्पर्धा हुने छ । प्रशिक्षकमा छन् आर्मीका मेघराज केसी र थ्रीस्टारका विक्रम लामा । हिजो थ्रीस्टारमा विक्रमले कप्तानी सम्हल्दा प्रशिक्षक केसी नै थिए । आज पोखराको मैदानमा दुवै प्रशिक्षक बनेर टचलाईनमा खेलाडीलाई निर्देशन दिने छन् । विक्रमलाई इतिहास लेखाउने अवसर छ । हिजो खेलाडी हुदाँ जितेको र अहिले प्रशिक्षक बनेर पोखरामा आहाको उपाधि उचाल्ने ।
‘गुरुसँग फाईनल खेल्न पाउनु मेरा लागि स्वर्ण अवसर हो’ फाईनलको पूर्वसन्ध्यामा थ्रीस्टार क्लबका प्रशिक्षक लामाले भने–‘हिजो गुरुले सिकाएको पाठ र आज आफुले सिकेको पाठलाई भोलिको फाईनलमा कार्यन्वयन गर्ने छु ।’
उनले मेघराज केसी(गुरु) हिजो पनि गुरु, आज पनि गुरु र भोलि पनि गुरु नै हुनुहुन्छ भन्दै थपे–‘तर व्यवसायिक रुपमा खेल्दा हिजो जे सिके आज प्रशिक्षकको रुपमा आफना खेलाडीलाई सिकाउँदै उपाधि उचाल्ने रणनीति बनाउँछौं ।’ उनले आफना खेलाडीहरु युवा भएको प्रष्ट पारे । भन्छन–‘खेलाडीमा गेमको अनुभवको कमी छैन् तर कमी केवल टिम गेममा हो । तर त्यो पनि तीन गेम खेलेर आईपुग्दा सेट भईसकेका छौं ।’ उनको भनाई अनुसार केही कमजोर थियो, जसलाई सुधार गर्दै फाईनल यात्रा तय गरिएको स्पष्ट पारे ।
सहारा क्लबको आयोजनामा सञ्चालित आहा रारा पोखरा गोल्डकपको उपाधिमा अहिलेसम्म ६ वटा क्लबको नाम लेखिएको छ । नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६÷६ पटक उपाधि जितेको इतिहास छ । थ्रीस्टारले पाँच पटक उपाधि जितेको छ । संकटा क्लबले २, अफ्रिकन युनाईटेड, सशस्त्र प्रहरी बल र आयोजक सहारा क्लबले एक पटक उपाधि उचालिसकेका छन् ।
‘हामी विगत ५ महिनादेखि सशक्त तयारी गरेरै उपाधिको लागि आएको हौं ।’ आर्मीका प्रशिक्षक केसीले भने–‘जित्नकै लागि आएका हौं । सधैंको उपविजेताको ट्यागलाई शनिबार हटाउने छौं ।’ उनको बुझाईमा फुटबल तयारी र मेहनतले मात्रै प्रतिफल प्राप्त हुने हो । टिमका सबैजसो खेलाडी युवा छन् । युवा भएकै कारण उत्साह छ । ‘टिमवर्क बनाएका छौं ।’ उनको भनाई थियो ।
हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गर्ने छ । फाईनलसँगै आयोजक सहारा क्लबले २३ औं संस्करणलाई शनिबार विट मार्ने छ ।