एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न

पाेखरा, माघ २८ गते ।एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेम्जामा यो कार्यक्रम आयोजना गरेको थियो ।

प्रशिक्षण कार्यक्रममा गन्धर्व समुदायका २५ जना बालबालिकाको सहभागी बनेका थिए । उनीहरुलाई स्थापित सारंगी बाधक सम्मर बहादुर गायकले सहजीकरण गरेका हुन् । समापन कार्यक्रमा आफूले सिकेका ज्ञानलाई उनीहरुले दुईवटा गीतमा सारंगी बजाएर प्रस्तुत समेत गरेका थिए ।

 

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमा बोल्दै उनले वैदिक काल भन्दा अगाडि सारंगीको उत्पत्ति भएको बताए ।

 

 

एक तार हुँदै आज सारंगीको विकसित रुप चार तारसम्म आइपुगेको उनको भनाई थियो । ऐतिहासिक महत्व बोकेको सारंगी गन्धर्व समुदायसँग जोडिनु खुशीको कुरा भएको उनले सुनाए ।

 

नेपाली लोक भाकामा प्रयोग गरिने सारंगी बाजा मात्र नभएर व्यवसाय पनि भएको भन्दै नयाँ पिढीले यसको संरक्षण प्रर्वद्धनका साथै व्यवसायसँग पनि जोड्नुपर्नेमा जोड दिए । एक महिनासम्म सिकेका कुरालाई प्रयोगात्मक रुपमा देखाएकोमा उनले बालबालिकाको प्रशंसा समेत गरे ।

 

तपाईहरुले सारंगी बजाएर देखाउनुभयो, म तपाईहरुप्रति विश्वस्त भए, अब तपाइहरु जस्तो नयाँ पिढीले सारंगीको गर्विलो इतिहास जोगाउनु हुनेछ’ उनले भने । सचिव पौडेलले मन्त्रालयले गर्नुपर्ने सहयोगमा आफू सदैव तयार रहेको समेत खुलाए ।

 

प्रशिक्षण कार्यक्रमका सहजकर्ता सम्मरबहादुर गायकले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिढीलाई आर्कषण गरेको बताए । एक महिनको समय अवधि कम भएको भन्दै यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर आयोजना भैरहनुपर्नेमा उनको जोड थियो ।

 

गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताए ।

 

पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेषभूषा र संस्कृति प्रति उदासिन बन्दै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘यो डर लाग्दो अवस्था हो, तसर्थ नयाँ पुस्तालाई क्रमिक रुपमा आफ्नो भाषाप्रति, आफ्नो बाजाप्रति, संस्कार संस्कृति प्रति आर्कषित गराउनु छ, त्यसका लागि प्रज्ञा प्रतिष्ठान कटिबद्ध छ’ उनले भने ।

 

 

हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

 

 

कार्यक्रममा पोखरा २५ हेम्जाका वडाध्यक्ष मोतिलाल तिम्सीना, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्ण प्रसाद पौडेल, प्राज्ञ डिल कुमारी पौडेले लगायत सहभागी भएका थिए । एक महिने सारंगी प्रशिक्षण कार्यक्रम गत पौष २७ गतेबाट सञ्चालन भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...