होटलकर्मीद्वारा विकृति विरुद्ध कार्वाही अगाडि बढाउन जिप्रका कास्कीको ध्यानाकर्षण

पोखरा, ९ फागुन । पोखराका होटल सम्वद्ध दुई संस्थाले यस क्षेत्रको भ्रमणमा आउँदै गरेका पर्यटकलाई विच बाटोबाटै पिछा गरी जवर्जस्ती आफूले भनेको होटलमा पुर्याउने व्यक्ति र गिरोह विरुद्ध कार्वाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् ।
होटल संघ पोखरा नेपाल र पृथ्वी होटल व्यवसायी समिति सम्वद्ध व्यवसायीका तर्फबाट जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई बुधबार भेट गरी पोखरा छिर्ने विभिन्न नाकाबाटै पर्यटकलाई पिछा गरी अबाञ्छित ढंगले आफूले भनेको होटलमा पुर्याउने प्रवृति विरुद्ध अपरेसन अगाडि बढाउन माग गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

 

संघका तर्फबाट प्रहरी उपरीक्षक थापालाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘हाल पोखरा आगमन हुने पर्यटकहरुलाई विभिन्न चोकहरु– छोरेपाटन, विरौटा चोक, सिर्जना चोक, जिरो कि.मि., जरेवर, हल्लन चोक, राष्ट्र बैंक चोक र मुख्य सडकहरुमा होटलका कर्मचारी तथा संचालकहरुले बाइक तथा स्कुटर जस्ता सवारी साधनहरुबाट दुर्घटना हुने गरी पिछा गर्ने र यस क्षेत्रको शान्ति सुरक्षामा नै खलल हुने गरी पर्यटकहरुलाई विभिन्न प्रलोभन देखाउने, वलजफ्ती गरी त्रसित गराउने गरेकोे हुँदा पर्यटकहरुलाई सुरक्षित र स्व इच्छाले पुर्व निर्धारित तय भएको होटल प्रतिष्ठानहरुमा जाने वातावरण नभएकोले उक्त कार्यलाई निरुत्साहीत गरी त्यस कार्यमा संलग्न होटल संचालक तथा कर्मचारीहरुलाई कारवाही गरी पाउँ भनी हार्दिक अनुरोध गर्दछौं ।’

होटल संघ पोखरा नेपालका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले रातको समयमा रात्रीकालिन व्यवसायबाट निस्कने मोटसाइकलमा सवार गर्ने व्यक्तिहरुले बन्दुकको आवाज जस्तै गरी ध्वनी निकाल्दै ध्वनीप्रदुषण गर्ने विरुद्ध समेत कार्वाही अगाडि बढाउन जिप्रका कास्कीको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

 

 

त्यस्ता मोटरसाइकलका कारण शान्त रुपले आराम र वास बसिरहेका पर्यटक र समाजलाई समेत असान्त बनाएको हुँदा त्यस कार्यमा संलग्न व्यक्ति, सवारीधनी तथा मोटरसाइकल वर्कसप र अतिरिक्त ध्वनी प्रदुषण निकाल्ने सामान वेच्ने पसलहरुलाई समेत कडा कारवाही गर्न माग गरिएको पराजुलीले बताए ।

 

लेकसाइड क्षेत्रमा संचालित रात्रिकालिन व्यवसायहरु अदालतको आदेशद्वारा २४ सै घण्टा खुला हुने भन्ने कुराले राती अवेर सम्म  संचालन हुँदा त्यस क्षेत्रको वातावरण अशान्त बन्दै गएको तर्फ समेत संघले ध्यानाकर्षण गराएको थियो । राती अवेर सम्म मापसे चेकिङ्ग समेत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै व्यवसायीले शान्तिपुर्वक बस्न र सुत्न नपाइएको पर्यटकहरुबाट समेत व्यापक गुनासो आएको विषय ध्यानाकर्षण गराएका थिए ।

विभिन्न माइकिङ जन्य गतिविधि, विभिन्न खेलकूदका विजेता टिम वा व्यक्तिबाट र्याली नै निकालेर मोटरसाइकल र अन्य सवारीमा होहल्ला गर्दै हिंड्ने कार्य, कतिपय तेश्रो लिंगी वा अन्य माग्नेहरुबाट पसल चाहार्दै माग्दै हिंड्ने कार्य र सडकमा जथाभावी पार्किङ गर्ने कार्यलाई समेत नियन्त्रण गर्न व्यवसायीले प्रहरी उपरीक्षक थापाको ध्यानाकर्षण गराएका थिए ।

समितिका निवर्तमान अध्यक्ष वालकृष्ण निउरेले पोखराको पुरानो बसपार्क क्षेत्रमा पर्यटकको झोला तान्ने लगायत र अन्य विकृतिजन्य कार्य विरुद्ध कार्वाही अगाडि बढाउन आग्रह गरेका थिए । समितिका अध्यक्ष अम्बिका घिमिरेले पर्यटन तथा होटल क्षेत्रका विकृति विरुद्ध व्यवसायी एक भएर अगाडि बढ्नुपर्ने बताए ।

 

 

सो अवसरमा आफ्नो भनाई राख्दै प्रहरी उपरीक्षक थापाले व्यवसायीले उल्लेख गरेका सबैप्रकारका विकृति विरुद्ध आफूले एक दुई दिन भित्रमा नै वृहत अपरेसन अगाडि बढाउने प्रतिवद्धता जनाए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...