पोखरा स्पोर्ट्स अवार्डलाई ‘मझेरी रिसोर्ट एण्ड स्पा’ले सघाउने

पोखरा, चैत २ गते ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पाले सघाउने भएको छ ।

शुक्रबार रिसोर्टमा मञ्चको टोलीसँग भएको भेटघाट तथा छलफल कार्यक्रम पश्चात अघिल्लो वर्षमा जस्तै यो वर्षको अवार्ड कार्यक्रममा समेत अफिसियल रिर्सोटको रुपमा मझेरी रहने निश्चित भएको हो ।

 

मञ्चका अध्यक्ष दीननाथ बराल, महासचिव राजाराम पौडेल, कार्यसमिति सदस्य एमबी आस्था मगर, सदस्य सागरराज तिमिल्सिना, रोहितराज पराजुलीको टोलीले रिर्सोटका अध्यक्ष अर्जुन खनाल तथा जनरल मेनेजर गुप्त गिरीसँग छलफल गरेको थियो । भेटघाट कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष विश्वराज पौडेल समेत सहभागी थिए ।

 

अवार्ड कार्यक्रमको महत्व र यसको तयारी समेतको बारेमा जानकारी गराए पश्चात रिसोर्टले अवार्ड कार्यक्रमलाई पुनः साथ दिन तयार भएको मञ्च अध्यक्ष बरालले बताए ।

 

अवार्ड कार्यक्रम गण्डकी प्रदेशको गौरवको कार्यक्रम रहेको कारण यसमा जोडिन पाउदा खुशी लागेको रिर्सोटका अध्यक्ष खनालले प्रतिक्रिया दिए ।

 

युवा व्यवसायी अर्जुन खनाल र दुर्गा पाण्डेको संयुक्त लगानीमा पोखरामा झण्डै डेढ वर्षदेखि सञ्चालनमा आएको रिर्सोटले छोटो समयमानै पाहुनाको मन जित्दै स्थापित हुन सफल भैसकेको छ । ग्राण्ड ओपनिङको तयारीमा रहेको मझेरीमा १६ करोड भन्दा बढीको लगानी रहेको अध्यक्ष खनालले बताए ।

 

 

शान्त वातावरणमा रहेको सुविधासम्पन्न रिसोर्टमा स्विट र सुपर डिलक्स गरेर ६० वटा रुम छन् । लेकसाइडको स्ट्रिट नम्बर १७ मा रहेको यो रिर्सोटमा कार्यक्रम गर्नको लागि सानो तथा ठुलो हलको समेत व्यवस्था रहेको छ । रिर्सोटमा स्विमिङ पुल, विभिन्न परिकार पाइने रेष्टुरेन्टको सुविधा समेत रहेको छ ।

 

मञ्चले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्दैछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए ।

 

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव पौडेलले जनाए ।

 

 

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ ।

 

 

थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...