खेलकुदकाे बहुआयमिक पक्षलाई आत्मसात गरौं–एनओसी अध्यक्ष श्रेष्ठ

पोखरा । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा पोखरामा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जिवनराम श्रेष्ठले खेलकुदको बहुआयमिक पक्षलाई सबैले आत्मसात गर्नु पर्ने बताएका छन् ।

नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजनामा बिहिबार खेलकुद सम्बन्धी गोष्ठीमा बोल्दै अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् । विकास र शान्तिका लागि खेलकुद दिवसको अवसरमा आयोजित गोष्ठीको सम्बोधन गर्दै श्रेष्ठले दिवसलाई मनाउन लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको बताए ।

 

खेलाडीका लागि अन्तिम सपना ओलम्पिक खेल रहेको र त्यसका लागि खेलाडी योग्य भएर नहुने बताउँदै अध्यक्ष श्रेष्ठले खेलाडीले ओलम्पिकमा पदक ल्याउन समाजको समेत उत्तिकै हात हुने सुनाए ।

 

उनले भने–“खेलाडीले समाजमा जुन रुपमा पाउनुपर्ने अधिकार हो त्यो नपाउँदा ओलम्पिक सम्मको यात्रा गर्न सम्भव छैन”, उनले थपे–“‘खेलकुद मैदानमात्र भएर हुँदैन । हामी खेल मात्र खेल्ने मानसिकताबाट माथि उठ्न जरुरी छ भने एक खेलाडी अघि बढ्न समाजपनि जोडिएको हुन्छ । विकसित समाज भएको ठाउँका खेलाडी अब्बल हुन्छन ।”

ओलम्पिक मुल्य मान्यतालाई स्विकार नगरे सम्म खेलकुद विकास अघि नबढ्ने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सरकार र ओलम्पिक बीचको तादम्यता नमिल्दा कुनै बेला नेपाली खेलकुदले गतिरोध समेत व्यर्होनु परेको जनाए ।

 

समाजमा अझै पनि खेलकुद अनुत्पादक क्षेत्र हो भन्ने विषयबाट अझै नेपाली समाज बाहिर निस्कन नसकेको जनाउँदै अध्यक्ष श्रेष्ठले समाजले खेलकुदका बहुआयमिक पक्षहरुको आत्मसात गर्दै यसका सवल पक्षहरु उजगार गर्न सके खेलकुदले फड्को मार्न सक्ने बताए । उनले भने–“ओलम्पिक जागरण र अभियान हो । यसले समाजमा सभ्यता र सचेतनातर्फ अघि बढाउन सहयोग पुग्छ । त्यसैले यो अभियानमा अघि बढ्न म यो अवसरमा आह्वान गर्छु ।”

सोही क्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरले खेलकुदमा लगानीमा प्राथमिकता दिएको बताए । पोखरा पर्यटकीय राजधानी भएकाले खेल पर्यटन यसको हाँगाको रुपमा रहेको उनको भनाई थियो ।

यस्तै नेपाल भुतपुर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले खेलाडीका लागि ओलम्पिक नै सबैभन्दा ठुलो उपाधि रहेकाले खेल क्षेत्रको नेतृत्वमा राजनितिकरण नगरी खेलाडीनै हुनुपर्नेमा जोड दिए । उनले खेलकुदमा हुने राजनितिले खेलाडीमाथि ठुलो अन्याय भइरहेको समेत उल्लेख गरे ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले प्राचिन ओलम्पिक र वर्तमान नेपाली खेलकुदको अवस्था, अन्तर्राष्ट्रिय खेलकुद दिवसको महत्वका बारेमा जानकारी गराउँदै विश्वमा शान्ती ल्याउन खेलकुद दिवसको भूमिका महत्वपूर्ण रहेको बताए ।

मञ्चका कार्यवाहक अध्यक्ष दिलबहादुर गुरुङले खेलकुदमा लगानी कम भएको गुनासो गरे । उनले ओलम्पिकसम्मको यात्रा धेरै कठिन रहेकाले यसमा राज्यको लगानी सँगै खेलकर्मीमा निश्वार्थ भावनाको आवश्यकता रहेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...