सही विश्लेषण नै माक्सवाद हो :मुख्यमन्त्री अधिकारी

पोखरा, जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सही स्थितिको सही विश्लेषण नै माक्सवाद भएको बताउनुभएको छ ।

बुधबार नेकपा एमाले कास्कीको आयोजनामा पोखरा १६ खोलाखेत स्थित मदन–आश्रित स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । पुँजीवादी जनवादी क्रान्ती शान्तिपूर्ण बाटोबाट हुन्छ भन्ने जननेता मदन भण्डारीको भनाईले त्यसलाई प्रष्ट पारेको उहाँले खुलाउनुभयो ।

 

‘भयो त्यस्तै भोट हालेर ४ जना राजावादी भए, अरु सबै गणतन्त्रवादी, मदन भण्डारी ज्योतिषी त होइन नी, तर सही स्थितिको सही विश्लेषण नै माक्सवाद हो, त्यो विश्लेषण गर्नुभयो’ अधिकारीले भन्नुभयो ।

 

जनताको बहुदलीय जनवादले पुँजीवादी जनवादमा मात्र नभएर समाजवादमा पनि दलीय प्रतिष्पर्धालाई खुला गरेको भनाई उहाँको थियो ।

 

‘बहुदलीय जनवादले के भन्यो भने समाजवादी समाजमा पनि वर्गीय अस्तित्व रहन्छ, प्रतिष्पर्धा रहन्छ, पुँजीवादी जनवादमा मात्र हैन समाजवादमा पनि दलीय प्रतिष्पर्धालाई खुला ग¥यो, त्यहीँ बाटोमा आज हामी छौँ’ उहाँले भन्नुभयो ।

 

सिपी मैनाली र झलनाथ खनाल जनताको बहुदलीय जनवादको विरोधी भएको र माधव नेपालले पनि दोस्रो पटक बहुमत देखेपछि भोट हालेको उहाँको दावी छ

 

‘सिपी मैनाली, झलनाथ खनाल जनताको बहुदलीय जनवादको विरोधी हुन्, माधव नेपालपनि बहुदलीय जनवादमा भोट नहालेका मानिस हुन्, दोस्रो पटक मात्र हाले बहुमत देखेपछि’ अधिकारीले थप्नुभयोे ।

 

जननेता भण्डारीको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति पु¥याएको भन्दै भण्डारीको विचारलाई अनुसरण गर्दै उहाँले देखेको सपनालाई साकार पार्नुपर्ने बताउनुभयो ।

 

राष्ट्रिय पुँजीको विकास बिना समाजवादमा जान नसकिने भएकोले राष्ट्रिय पुँजीको विकासमा ध्यान दिनुपर्नेमा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले जोड दिनुभयो ।

 

नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दर्शन लामाले गर्नुभएको थियो ।

 

एमाले कास्कीले जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३१ औँ स्मृति दिवसको अवसरमा बुधबार सरसफाइ, माल्यार्पण तथा जवजका विशेषताहरूको वाचन कार्यक्रम आयोजना गरेको हो । वडा पार्टी कमिटी पोखरा १६ को व्यवस्थापनमा भएको कार्यक्रममा नेकपा एमालेका नेता, जनप्रतिनिधि र शुभचिन्तकको सहभागीता रहेको थियो ।

 

कास्कीको जिल्ला अधिवेशन उद्घाटन गरेर फर्कने क्रममा २०५० साल जेठ ३ गते दासढु्ंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । एमाले कास्कीले स्मृति दिवसको अवसरमा बिहीबार जिल्ला पार्टी कार्यालयमा नेपालको कम्युनिष्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक प्रवचन कार्यक्रमको आयोजना गर्ने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...