गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल सुरु : तनहुँको सहज जित

पोखरा । पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।


प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा तनहुँले गोरखा विरुद्धको खेलमा ३–० गोल अन्तरले सहज जित निकालेको छ । तनहुँलाई अग्रता दिलाउने क्रममा पहिलो गोल शान्ता बहादुर गुरुङले खेलको २० औं मिनेटमा गोलको खाता खोले ।

खेलको पहिलो हाफमा गोरखा विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको तनहुँले खेलको २३ औं मिनेटमा दोस्रो गोल थप्यो । तनहुँका लागि राम थापाले गोल गरे । तेस्रो गोल पहिलो हाफकै ३१ औं मिनेटमा जिवेश आले मगरले गरे ।

यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सञ्चालन हुनेछन् ।

जस अन्तर्गत पहिलो खेल विहान ८ बजे म्याग्दीले स्याङजाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङका बीच हुनेछ भने चौथो खेल लमजुङले तनहुँको सामना गर्ने संघका महासचिव बिनोद गुरुङले बताए ।

प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...