नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले डहरे देउरालीलाई दैवी शक्तिको केन्द्र रहेको उल्लेख गरेका छन् ।पर्वत र स्याङ्जा जिल्लामा पर्ने डहरे देउरालीमा भएको एक कार्यक्रममा बोल्दै सभापति शर्माले देउराली परिसरमा आउने वित्तिकै अनौठो अनुभुति प्राप्त भएको जानकारी गराए ।
“हामीले जानेका नजानेका धेरै सन्त महात्माहरुले तपश्या गरेर सिन्चित गरेको पवित्र स्थान हो । त्यसैले यो क्षेत्र नै स्वतः सिद्ध ठाउ हो, पुण्य भुमि हो । यो ठाउँमा ध्यान, साधना गरेर धेरै महात्मा मुनीहरुले मुक्ति पाएका छन् । हामीले यसको महत्वलाई जति साधनामा बदल्न सक्छौ त्यती यो तीर्थ बन्छ” उनले भने ।
यहाँ जस्तै भारतमा पनि सन्तहरुले सिन्चित गरेको ठाउँ हुन्थ्यो भने त्यहाँको विकास कल्पना भन्दा बाहिरको हुन्थ्यो तर साधन र अन्य विविध कारणले यो क्षेत्र पर्दा भित्र लुकेको जस्तो अनुभव भएको उनले उल्लेख गरे ।
पर्यटकीय तथा डहरे देउरालीलाई साधना केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले “पर्यटकले प्रकृतिको दर्शन गर्छन, फोटो खिच्छन् केहीबेर रमाउछन् तर वास्तविक तत्वको महत्व बुझ्न पाउँदैनन् । तर साधनाबाट व्यक्तिले म को हुँ ? मेरो जन्म के को लागि ? भन्ने जस्ता प्रश्नको उत्तर पाउछ । उसले यस ठाउँको प्रकृतिलाई अध्ययन गरेर ध्यान गरेमा स्वर्गिय आनन्द र मुक्तिको बाटो पत्ता लगाउनेमा विश्वस्त रहेको उनले बताए ।
सभापति शर्माले यो पुण्य भुमीमा शक्ति र आनन्दको महत्व बुझाउनको लागि साधनाको केन्द्रको रुपमा विकास गरेमा विश्व भरबाट साधकहरुको घुँइचो लाग्ने जानकारी गराए । “देवी” शक्तिको प्रतिक भएको र राम्रो सँग आराधना गरेमा मुक्तीको मार्ग खुल्नेमा उनि विश्वस्त रहेको बताए। अपार शक्ति भएको यो क्षेत्रमा विनिमय र ब्यापार नगरी सेवाको भावले काम गर्नुपर्ने कुरा उनले औल्याए ।
उनले यस क्षेत्र परिसरमा अत्याधिक जटिवुटी रहेको हुँदा सञ्जिवनी वाटिका बनाउँदा उपर्युक्त हुने बताउनुका साथै, शास्त्रका आधारमा मुलद्वारको उपयुक्त ठाउँमा हनुमानको मुर्ति राख्न अनुरोध गरे ।कार्यक्रममा केदारेश्वर मन्दिरका मुल पिठाधिस डा.लेखनाथ पशुपतिनन्द गिरी चैतन्य महाराजजी, गण्डकी प्रदेश प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री पञ्चराम गुरुङ, प्रदेश सभा सदस्य रेखा गुरुङ, विश्व हिन्दु महासंघ केन्द्रीय उपाध्यक्ष शंकर खराल, फलेवास नगरपालिकाका पूर्व मेयर पदमपाणी शर्मा, ने.का.गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु), ज्ञानप्रसाद शर्मा लगायतले बोलेका थिए ।
मोक्षद्वारी वालसिद्ध योगाश्रम डहरे देउरालीका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा टेकनाथ खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने घनश्याम पौडेलले सञ्चालन गरेका थिए ।