लामाचौरमा  तीज महोत्सवको रौनक,सम्झना र दुर्गेशले नचाउने

पोखरा, भदौ ।तीज भन्नेबित्तिकै लामाचौर सम्झिने धेरै छन् । लामाचौरमा यसपालि पनि तीज महोत्सव रौनकले छपक्कै छोपेको छ ।नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि सुरु २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ को दोस्रो दिन बिहीबार दर्शकको ठूलो भीड लाग्यो । आयोजकले तीजसँग सम्बन्धित विभिन्न गतिविधि गर्ने भएकोले दर्शकको आकर्षण बढेको आयोजकको दाबी छ ।


महोत्सवमा बिहीबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको प्रस्तुतिमा दर्शक छमछमी नाचेर साथ दिएका थिए । यस्तै, जीवन दाहाल र वसन्त विश्वकर्माले प्रस्तुति दिए । तीनदिने महोत्सवको अन्तिम दिन शुक्रबार राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझी आउने प्रचार संयोजक दिनेश भण्डारीले बताए । महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टल पनि राखिएको छ ।

 

अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल प्रथम भएको छ । प्रगति इङ्लिस बोर्डिङ दोस्रो तथा सरस्वती विद्याश्रम तेस्रो भयो । गुरुकुल विद्यासदन, रिभरडेल बोर्डिङ र बेसलाइन एकेडेमी सान्त्वना भएको निर्णायक संयोजक सिर्जन गुरुङले बताए । प्रतियोगितामा २० टिमले भाग लिएका थिए ।अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता सम्पन्न छ । पुरस्कार वितरण तीजकै दिन हुने कलाकार दीपक खड्काले जनाए । २० टिमले भाग लिएको प्रतियोगितामा महिलाहरु सजिएर मौलिक भाखामा तीज गीत गाएका थिए ।

 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले नवआदर्शले आयोजना गर्ने मेला उत्कृष्ट हुन गरेको बताए ।कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष थिरबहादुर थापा र संचालन सचिव हरिबहादुर थापा र सहसचिव शोभा बानियाँले गरेका थिए ।संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।

 

महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता रहेको छ । दुवैको फाइनल तीजकै दिन हुनेछ । यस्तै, आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ ।विजेताले १ लाख ५० हजार, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...