सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा भलिबल प्रतियोगिता हुुने

पोखरा, भदौ ।नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकीको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । पोखरामा आउँदो भदौ २७ देखि ३१ गतेसम्म सुवासचन्द्र नेम्वाङ स्मृति प्रथम प्रदेशस्तरीय पुरूष खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो ।


संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष नेम्वाङको २०८० साल भदौ २७ गते निधन भएको थियो । उनकै प्रथम स्मृतिको दिन पारेर पोखरामा प्रतियोगिता गर्न लागिएको अनेरास्ववियु गण्डकी अध्यक्ष प्रबिन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिम भने अनेरास्ववियुकै हुनुपर्ने तर राष्ट्रिय खेलाडी पनि समावेश गर्न पाइने छ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १११ रूपैयाँ र उपविजेताले ७१ हजार १११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । प्रतियोगितामा भाग लिन ७ हजार ५ सय रूपैयाँ दर्ता शुल्क तोकिएको अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक विक्रम क्षेत्रीले बताए । अनेरास्ववियुका जिल्ला, पालिका, क्याम्पस कमिटीले गण्डकी प्रदेशकै राष्ट्रिय खेलाडी राखेर टिम बनाउन सक्ने उनले बताए । ‘राष्ट्रिय खेलाडी भएपनि गण्डकी प्रदेशकै हुनुपर्छ । बाहिरको खेलाडी टिममा मिसाएर खेलाउन पाइँदैन,’ उनले भने ।

 

प्रतियोगिता पृथ्वीनारायण क्याम्पसको भलिबल कोर्टमा हुने अनेरास्ववियु गण्डकीका सचिव सुरज सापकोटाले जानकारी दिए । भदौ २५ गते साँझ ४ बजेसम्ममा टिम दर्ता गरिसक्नुपर्ने उनले बताए । प्रतियोगिताको उद्घाटनमा अनेरास्ववियुका केन्द्रीय पदाधिकारी सहभागी हुने छन् । त्यस्तै समापन समारोहमा स्व. सुवासचन्द्रका छोरासमेत रहेका प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ पोखरा आउने तयारी छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...