डेङ्गु संक्रमण सम्बन्धी अभिमुखीकरण

पोखरा । पोखरा महानगर पालिका वडा नं ८ सिमलचौर स्थित जनप्रिय माध्यमिक विद्यालयमा जनप्रिय युवा रेडक्रस सर्कलको व्यवस्थापन तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा डेङ्गु संक्रमण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । 

पोखरामा भयानक रुपमा  संक्रमणको अवस्थामा रहेको डेङ्गु रोगलाई नियन्त्रण  गर्ने अभिप्रायले विद्यालयका विद्यार्थीहरुलाई लामखुट्टेबाट बच्न र लामखुट्टे रहने संभावित क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा सरसफाई गर्न विद्यार्थीहरुलाई  जानकारी गराउने  उद्देश्यले अभिमुखीकरण गरिएको हो ।

विद्यालयका करिब सय जना विद्यार्थीहरु माझ कार्यक्रम सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी  कास्कीका सदस्य तथा जूनियर युवा समिति सदस्य रमेशराज भण्डारीले उद्घाटन गर्दै सबै विद्यार्थीहरू समाजका पनि सदस्य भएको हुनाले यो जानकारी समाज सम्म पुग्ने र समाजलाई पनि सतर्क गराउन सक्ने कुरा बताए ।

कार्यक्रममा विद्यालयका युवा तथा जूनियर सर्कलका संरक्षक एबम् प्रधानाध्यापक  देवीप्रसाद बस्ताकोटीले स्वागत मन्तव्य राखेका थिए ।  नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका  अधिकृत तथा प्रशिक्षक नबराज भण्डारीले प्रशिक्षण गराएका थिए भने कार्यक्रममा विद्यार्थीसगै विद्यालयका शिक्षक तथा अभिभावकहरुको पनि उपस्थित रहेको थियो ।

सर्कलका अध्यक्ष अनमोल तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जूनियर युवा सर्कल  पूर्व अध्यक्ष सिमाना रेग्मीले रेडक्रसको सात सिद्धान्त बाचन  गराएर कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

कार्यक्रम सञ्चालन शिक्षक नायक श्रीकान्त पाैडेलले गरेका थिए । कार्यक्रम पश्चात विद्यालय परिसरमा डेङ्गु नियन्त्रणका लागि ‘खोज तथा नष्ट’ अभियान सञ्चालन गरिएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...