पर्यटकीय नगरी पोखरामा भारतीय मगन्तेको बिगबिगी, व्यवस्थापन गर्न टान गण्डकीको अनुरोध

पोखरा । पर्यटकीय राजधानी पोखरामा पर्यटकीय सिजन बढेसँगै भारतीय मगन्तेहरूको बिगबिगी देखिएको छ । भारतीय मगन्तेहरूले पर्यटकहरूसँग जबरजस्ती पैसा माग्ने, अनावश्यक दुःख देखाई पर्यटकहरुलाई भावनात्मक पीडा दिने जस्ता गतिविधिले पर्यटकको आवागमनमा नकारात्मक असर पारेको हो । यस्तै नकारात्मक गतिविधिलाई व्यवस्थापन गर्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पोखरा महानगरपालिकालाई ध्यानाकर्षण गरेको छ ।

पर्यटकीय सिजन भित्रिँदै गरेको हालको अवस्थामा पोखराको लेकसाइड क्षेत्रमा भारतीय मगन्तेहरूले पर्यटन व्यवसायीलाई नकारात्मक प्रभाव पारी स्थानीय व्यवसायी तथा लेकसाइड घुम्न आउने पर्यटकलाई आक्रान्त पारिरहेकोप्रति टान गण्डकीको ध्यानाकर्षण भएको जनाएको छ । भारतीय मगन्तेहरूले पर्यटकसँग जबरजस्ती पैसा माग्ने, अनावश्यक दुःख देखाउने, पर्यटकहरूलाई भावनात्मक पीडा दिने जस्ता गतिविधिले विश्वसामु नेपालको बदनाम हुने साथै पर्यटक आवागमनमा समेत नकारात्मक असर पर्ने भएकाले ती भारतीय मगन्तेहरूको उचित व्यवस्थापन गरी पर्यटकीय राजधानी पोखराको साग जोगाउन टान गण्डकीले पोखरा महानगरपालिकासँग अनुरोध गरेको छ ।

 

टान गण्डकीले पोखरा महानगरलाई गराएको अनुरोध यस्तो छः
‘उपरोक्त सम्बन्धमा यस ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशमा रही पश्चिम नेपालको पदयात्रा पर्यटनको प्रवर्धन र विकासमा समर्पित र पदयात्रा क्षेत्रको मेरुदण्डको रुपमा रहि पदयात्रा पर्यटनको प्रमुख हिस्सा ओगटेको पदयात्रा कम्पनीको साझा सस्था रहेको सर्वविद्धितै छ । विभिन्न कालखण्डमा पदयात्रा व्यवसायका चुनौतीहरुसंग जुद्धै व्यवसाय सञ्चालन गरि मर्यादित पदयात्रा व्यवसायलाई सधै क्रियाशिल बनाउन टान गण्डकी सदा सर्मपित रहेको छ ।

नेपालको पर्यटनको प्रमुख हिस्सा ओगटेको एक मात्र पर्यटकीय राजधानी पोखराले पर्यटक आगमनका लागी र उनीहरुको बसाई लम्ब्याउन अहम भूमिका खेलेको सर्वविधितै छ । भर्खरै मात्र पर्यटकीय सिजन भित्रिदै गरेको हालको अवस्थामा पोखराको लेकसाइड क्षेत्रमा भारतीय मगन्तेहरुले पर्यटन व्यवसायलाई नकारात्मक प्रभाव पारि स्थानीय व्यवसायी तथा लेकसाइड घुम्न आउने पर्यटकहरुलाई आक्रान्त पारिरहेको प्रति संस्थाको ध्यानाकर्षण भएको छ । ती भारतीय मगन्तेहरुले पर्यटकहरुसँग जबजस्ती पैसा माग्ने, अनावश्यक दुःख देखाई पर्यटकहरुलाई भावनात्मक पिडा दिइरहेका छन् । यस प्रकारका गतिविधीले विश्व सामु नेपालको बदनाम हुने साथै पर्यटक आगमनमा समेत नकारात्मक असर पर्ने भएकाले ती भारतीय मगन्तेहरुको उचित व्यवस्थापन गरि पर्यटकीय राजधानी पोखराको साख जोगाउनका लागी महानगरपालिकासँग सविनय अनुरोध गर्दछौ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...