आरजु राणा लक्षित प्रदर्शनप्रति एनआरएनए बेल्जियमको आपत्ति, कारवाहीको माग

एजेन्सी । परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लक्षित गरी गरिएको प्लेकार्ड प्रदर्शनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले आपत्ति जनाएको छ । एनआरएनए वेल्जियम महासचिव रुविना शर्माले एक विज्ञप्ती जारी गर्दै नेपाली जनसम्पर्क समिति वेल्जियमको कार्यक्रम सिलसिलामा लुभेन पुगेका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध बुधबार भएको घटनाप्रति आपत्ति जनाएकी हुन् ।

‘यस घटनामा संघका उपमहासचिव राजेन्द्र कार्कीको संलग्नतालाई संघको विधान र भावना विपरीत मान्दै, उक्त कार्यप्रति हामी गहिरो असहमति र खेद व्यक्त गर्दछौं । परराष्ट्र मन्त्रालय गैरआवासीय नेपाली संघको अभिभावक मन्त्रालय भएको तथ्यलाई ध्यानमा राख्दै, कसैको इशाराको प्रत्यक्ष निर्देशनमा उपमहासचिव कार्कीले संघको भावनालाई लत्याउँदै मन्त्रीविरुद्ध प्लेकार्ड प्रदर्शन गर्नु र राष्ट्रको इज्जत बोकेर आएकी नेपाल सरकारकै मन्त्रीलाई विदेशी भूमिमा अपमान गर्नु एकदमै निन्दनीय कार्य हो ।’ – विज्ञप्तीमा उल्लेख छ ।

घटनामा संलग्न व्यक्तिहरूमाथि संघको विधानअनुसार आवश्यक अनुशासनात्मक कारबाहीका लागि सम्बन्धित निकायहरूसँग तत्काल प्रक्रिया अघि बढाउन समेत संघले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

यस्तो छ एनआरएनए बेल्जिएमले जारी गरेको विज्ञप्तीः

नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यक्रमको सिलसिलामा लुभेन आउनुभएकी नेपाल सरकारकी सम्माननीय परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध गत बुधबार भएको अशोभनीय घटनाप्रति गैरआवासीय नेपाली संघ बेल्जियमको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस घटनामा संघका उपमहासचिव राजेन्द्र कार्कीको संलग्नतालाई संघको विधान र भावना विपरीत मान्दै, उक्त कार्यप्रति हामी गहिरो असहमति र खेद व्यक्त गर्दछौं । परराष्ट्र मन्त्रालय गैरआवासीय नेपाली संघको अभिभावक मन्त्रालय भएको तथ्यलाई ध्यानमा राख्दै, कसैको इशाराको प्रत्यक्ष निर्देशनमा उपमहासचिव कार्कीले संघको भावनालाई लत्याउँदै मन्त्रीविरुद्ध प्लेकार्ड प्रदर्शन गर्नु र राष्ट्रको इज्जत बोकेर आएकी नेपाल सरकारकै मन्त्रीलाई विदेशी भूमिमा अपमान गर्नु एकदमै निन्दनीय कार्य हो ।

यसबाट पर्न गएको असरप्रति नेपाल सरकार र विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायसँग हामी क्षमायाचना गर्न चाहन्छौं । साथै, यस घटनामा संलग्न व्यक्तिहरूमाथि संघको विधानअनुसार आवश्यक अनुशासनात्मक कारबाहीका लागि सम्बन्धित निकायहरूसँग तत्काल प्रक्रिया अघि बढाउन आग्रह गर्दछौं ।

त्यस्तैगरी, अनुमति बिना निजी व्यवसायमा बाधा पु¥याउने गरी नेपालीद्वारा सञ्चालित रेस्टुरेन्ट अगाडि गरिएको प्रदर्शनलाई पनि अस्वीकृत र असोभनीय मान्दै, भविष्यमा यस्ता घटनाहरू रोक्नका लागि सबै सदस्य र सम्बद्ध पक्षलाई संयमित र जिम्मेवार हुन अनुरोध गर्दछौं ।

अन्तमा, सम्माननीय परराष्ट्रमन्त्री आरजु राणा देउवा नेपाल र नेपाली जनतालाई प्रतिनिधित्व गर्न युरोप आएका बेला व्यस्तताका कारण सबैजनासँग भेट हुन नसके तापनि, पुनः आउने बेला सबैलाई भेट्ने वचन दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछौं ।

हामी उहाँले युरोपमा नेपाल र नेपाली डायस्पोराको पहिचान सुदृढ गर्न, कूटनीतिक सम्बन्धहरू विस्तार गर्न, र नेपाली समुदायका चासोहरूलाई सम्बोधन गर्न गरेका प्रयासहरूको उच्च प्रशंसा गर्दछौं । उहाँको नेतृत्व र योगदानप्रति गर्व व्यक्त गर्दै, आगामी कूटनीतिक यात्रामा थप सफलताको कामना गर्दछौं ।

रुविना शर्मा
महासचिव,
गैरआवासीय नेपाली संघ बेल्जियम

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...