चितवन, पुस १७ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राख्नुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई राज्यले छुट गर्नुपर्छ ।” पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका थापाले यस विषयमा स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दानमध्येको ठुलो दान रक्तदान भएकाले कल्याणको भावनाले उत्प्रेरित भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
सामाजिक काममध्येको महत्त्वपूर्ण र परोपकारी काम रक्तदान भएको भन्दै महामन्त्री थापाले गत दिने र लिनेबिच कुनै सम्बन्ध नहुँदा पनि सहयोग स्वरूप सम्बन्ध स्थापित हुने बताउनुभयो । उहाँले थप्नुभयो, “रक्तदान गर्नेलाई कसले प्रयोग गर्छ थाहा नहुने र लिनेले कसको रगत लियो त्यो पनि थाहा नहुने हुँदा रक्तदान पूण्यको काम हो ।”