पोखरामा जारी क्यान इन्फोटेक २०२५ मा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक गरिएको छ।
यो ग्राफिक्स कार्ड नेपालमा पहिलो पटक सार्वजनिक गरिएको ऐतिहासिक अवसर बनेको छ। उक्त ग्राफिक्स कार्ड क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकरण कार्कीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
RTX 5080 ग्राफिक्स कार्ड, जसलाई CES 2025 मा जनवरी ७ तारिखका दिन लस भेगासमा पहिलो पटक सार्वजनिक गरिएको थियो । पोखरामा सार्वजनिक भएपछि यसले प्रविधिको क्षेत्रमा ऐतिहासिक रेकर्ड कायम गरेको क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले बताए ।
MSI RTX 5080 एक शक्तिशाली ग्राफिक्स कार्ड हो जसमा कृत्रिम बुद्धिमत्ता (AI) को क्षमता रहेको छ। यसले १६ जीबी VRAM सहित २५६-बिट बस इन्टरफेस प्रयोग गर्दछ। यसमा GDDR7 मेमोरी प्रयोग गरिएको छ, जसले ३० Gbps को गति प्रदान गर्नेछ र ९६० GB/s को कुल ब्यान्डविथ क्षमतासहित विश्वकै सबैभन्दा छिटो मेमोरी भएको ग्राफिक्स कार्डका रूपमा स्थान बनाएको छ।
ग्राफिक्स कार्डको वितरण र बिक्रीका लागि पोखरामा MSI को आधिकारिक डिलर कोस्मिक कम्प्युटर्स रहेको छ, जसले पोखरा क्षेत्रमा १२ वर्षदेखि MSI को सेवा दिँदै आएको छ। नेपालभर MSI का उत्पादन आयात गर्ने ओसन कम्प्युटर दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील छ।
क्यान इन्फोटेक २०२५ मा यो ग्राफिक्स कार्डको सार्वजनिकसँगै प्रविधिप्रेमीहरूका लागि पोखरा थप विशेष गन्तव्य बनेको छ। नयाँ प्रविधिहरूको अनुभव गर्न चाहने जोकोहीले यस मेलामा सहभागी हुन आग्रह गरिएको छ।
थप जानकारीका लागि क्यान इन्फोटेकको प्रदर्शनीमा अवलोकन गर्न सकिनेछ।