पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आजदेखि लिग चरणको खेल सुरु भएका छन् । आज लिग चरणका ४ खेल हुनेछन् । पुरुषतर्फ दुई र महिलातर्फ दुई खेल हुने तालिका छन् ।
पहिलो खेलमा पराजित भएको गण्डकी प्रदेशको अर्काे चरणमा जाने सम्भावना केही कठिन बनेको छ । अब पुरुषतर्फ गण्डकीले ‘हार्ने समूह’ मा लिग खेल्नेछ । उक्त समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र इलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगितबाट बाहिरिनेछन् । ‘हार्ने समूह’ मा गण्डकीसहित टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपिएफ छन् । ३ वटै टोलीले एकअर्कासँग खेल्नेछन् । यी टोलीमध्ये शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । इलिमिनेटर खेल्न गण्डकी शीर्ष स्थानमा रहनुपर्छ । अन्यथा प्रतियोगिताबाट बाहिरिनेछ ।
अर्काेतर्फ ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले इलिमिनेटरमा भिड्नेछन् । पुरुषतर्फ ‘जित्ने समूह’ मा त्रिभुवन आर्मी क्लब, भारतको सुनिल भलिबल क्बल र नेपाल पुलिस क्लब छन् ।
पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । ‘हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।