पोखरा,वैशाख १९ गते ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली खत्रीले अवार्ड पाउने निश्चित भएको हो । खत्रीलाई वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ ।
बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई विभिन्न पदक जितिसकेकी छिन् । उनले नवौं राष्ट्रिय प्रतियोगितामा प्रथम, १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला शुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाचौं राष्ट्रिय प्रतियोगितामा द्धितीय र १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी प्राप्त गरिसकेकी छिन् ।
त्यस्तै अन्तर्राष्ट्रिय तर्फ सिड्नीमा भएको सत्ताइसौं ओलम्पिक गेममा सहभागि उनले राष्ट्रिय कीर्तिमानी समेत कायम गरेकी थिइन् । विभिन्न ७ वटा संस्करणका एशियन गेममा सहभागिलगाएत साफ च्याम्पियन र अन्तर्राराष्ट्रिय शुटिङ प्रतियोगितामा सहभागि भइसकेकी छिन् । खत्रीले गोरखा दक्षिण बाहु मानपदवी प्राप्त गरिसकेकी छिन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन २०६३ बाट उत्कृष्ट खेलाडीको रुपमा घोषणा भइसकेकी छिन् । गण्डकी प्रदेशमा शुटिङ प्रशिक्षकको रुपमा २०५१ सालदेखि खेलाडीलाई निशुल्क प्रशिक्षण समेत गराउँदै आएकी छिन् ।
यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र इन्द्रा मल्लले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ ।खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।