पोखरा, जेठ २१ गते ।पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नेसनल स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जेठ २७ देखि ३१ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एभरेष्ट भलिबल क्लबले सहभागिता जनाउने पक्का भएको नेसनल स्पोटर्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो । खेलहरु राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछन् ।
प्रतियोगिताका विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने एकेडेमीका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । तेस्रो हुने टोलीले एक लाख प्राप्त गर्नेछ ।सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूले समान २० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । सहभागी टीमले ३ जनासम्म विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।
नेपालको लोकप्रिय र गतिशील हुँदै गएको खेलको रूपमा रहेको भलिवलको विकासमा एउटा इटा थप्ने प्रयास स्वरूप प्रतियोगिता आयोजना गरिएको एकेडेमीका अध्यक्ष कोइरालाको भनाई थियो । प्रतियोगिता सम्पन्न गर्न करिव ६० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।