पोखरा ।एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथी सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३-० को सोझो सेटमा पराजित गर्यो । मधेशले पहिलो र दोस्रो सेट समान २५-१९ र तेस्रो सेट २५-२३ ले जित निकाल्यो । खेलको प्लेयर अफ द म्याच मधेशकी रोमी भिनस्ट्रा घोषित भइन् ।
मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो ।
आजै भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले हराएको थियो ।
लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछ । पहिलो खेल मधेश युनाइटेड र काठमाडौं स्पाईकर्सबिच दिउँसो २ बजेबाट सुरु हुनेछ । भोलिको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल ४ बजेबाट सुरु हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।