पोखरा । पोखरेली टेनिस स्टार अभिषेक बाँस्तोलाले नेपाली टेनिसमा अर्को इतिहास रच्ने भएका छन् । उनी एटीपी च्यालेन्जर ट्रफी खेल्ने भएका हुन् ।

यो प्रतियोगिता खेल्ने अभिषेक नेपालका पहिलो टेनिस खेलाडी बन्नेछन् । सेप्टेम्बर ७ देखि १३ तारिखसम्म भियतनामको फान थियेटस्थित नोभा वर्ल्डको हार्ड कोर्टमा उक्त च्यालेन्जर ट्रफी आयोजना हुँदैछ ।
वाइल्ड कार्डमार्फत प्रवेश पाएका अभिषेकले क्वालिफायरमा जापानी खेलाडी युता कावाहासीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । कुल ६३ हजार अमेरिकी डलर पुरस्कार राशि रहेको एटीपी च्यालेन्जरमा नेपालबाट प्रतिनिधित्व गर्न पाउनु नेपाली टेनिससँगै आफ्ना लागि पनि ऐतिहासिक उपलब्धि भएको अभिषेकले बताएका छन् ।
जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारीका क्रममा अभिषेक विभिन्न देशमा आयोजना भइरहेका प्रतियोगितामा सहभागी हुँदै आएका छन् । सम्भवतः यो प्रतियोगितापछि पनि उनी अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् । त्यसपछि एसियाडका लागि जापान जाने तयारीमा छन् ।
एसियाडमा अभिषेकको यो चौथो सहभागिता हुनेछ । यसपटक एसियाडमा केही फरक र उत्कृष्ट प्रदर्शन गर्दै सहभागितालाई फलदायी बनाउने लक्ष्य रहेको उनले बताएका छन् ।
पछिल्लो समय विभिन्न प्रोफेसनल टुरमा राम्रो सफलता हासिल गरिरहेका अभिषेकले एसियाडमा पनि नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।