पोखरा, मंसिर २ गते । पोखरामा पहिलो पटक राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने छ । आगामी पुस ११ गते पोखराको पामेमा अटोक्रस च्याम्पियनसिप हुने नेपाल अटोमोवाईल्स एशोसियसन(नासा)गण्डकीले जनाएको छ ।

पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्ने यो च्याम्पियनसिपमा दुईहजार सिसी क्षमताभन्दा कम र दुईहजार भन्दा माथिको सिसी क्षमता भएका कारको सहभागिता रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।“दुईहजार माथि सिसी भएका कार १२ वटा र दुईहजार सिसी भन्दा कमका १२ कारले प्रतिस्पर्धा गर्ने छन् ।” नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
च्याम्पियनसिपको लागि नासाले पामेका ८ सय देखि एकहजार मिटर लम्बाईको रेसिङ कोर्स बनाईने उनले बताए । रेसिङ कोर्समा टाईम अट्याक शैलीमा सबैभन्दा कम समयमा पुरा गर्नेलाई पुरस्कृत गरिने नासाले जनाएको छ । च्याम्पियनसिपले पोखरालाई साहसिक खेल मार्फत पर्यटन प्रवद्र्धन एवं ओटक्रस स्पोर्टसलाई प्रवद्र्धन गर्ने विश्वास आयोजकले लिएका छन् । अटोक्रस च्याम्पियनसिपले नेपालीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने दावी नासाको छ ।
च्याम्पियनसिपमा सातै प्रदेशका अटोक्रस रेसर आउने दावी समेत आयोजक गण्डकी नासाले जनाएको छ । यो च्याम्पियनसिप काठमाडौंमा हुदैं आएपनि मोफसलका शहरमा भने पहिलो पटक आयोजनाको तयारी गरिएको नासा गण्डकीले जनाएको छ ।
आगामी पुसको दोस्रो साता हुने च्याम्पियनसिपको लागि आवश्यक कोर्स बनाउने काम नासाले शुरु गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार कोर्ष छोटो तर चुनौतिपूर्ण हुने छ । चुनौतिपूर्ण कोर्षमा चालकले आफनो क्षमता र दक्षताको परीक्षण गर्ने मात्रै नभई मोटरप्रेमीहरुमा अटोक्रस लोकप्रिय खेल समेत रहेको नासाले उल्लेख गरेको छ । च्याम्पियनसिपलाई फेडेरेशन इन्टरनेशनल डि अटोमोवाईल(एफआईए)ले मान्यता प्रदान गरेको छ ।