एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पोखरा, पुस २२ गते  । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) काठमाडाैको आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाली खेलकुदको प्रतिष्ठित मानिने अवार्डको कार्यक्रमको इतिहासमै कार्यक्रम काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको छ । मञ्चअन्तर्गतको एनएसजेएफको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो ।
मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै ब्यग्र प्रतीक्षामा छौं । हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नु पर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौती भन्दा पनि बढी अवसर देखेका छौं । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तब्य बन्ने छ ।’
त्यस्तै खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन् । उनले भनेका छन्, ‘पोखरा सहर स्पोर्टस हबको रूपमा स्थापित हुँदै आएको छ । अब स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ ।’ अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ ।
अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।
पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । यसपल्टको कार्यक्रम पोखराको सभागृहमा आयोजना हुनेछ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...