पोखरा ।नेपाल पुलिस क्लबलाई हराउँदै न्यू डायमण्ड स्पोट्स क्लब छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित निकाल्यो । डायमण्ड ३ खेलबाट ९ अंकसहित फाइनलमा पुगेको हो । अब एपीएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन् । पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोरेको छ ।
यसअघि आजै भएको खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको थियो । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो ।
अब पुरुषतर्फको खेल पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सबिच सुरु हुनेछ । त्यसपछि गण्डकी र पुलिस भिड्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।