पोखरामा पहिलोपटक साफ यु–१९ महिला फुटबल प्रतियोगिता हुने

माघ १५ गते, पोखरा ।पोखरामा पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी हुनेछन्।


आज पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

 

साफका महासचिव पुरुषोत्तम कट्टेलले प्रतियोगितामा सहभागी हुने सबै टिम बिहीबार पोखरा आइपुगेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली यु–१९ महिला टोली हाल बन्द प्रशिक्षणमा रहेको छ भने टोलीको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ रहनुभएको छ।

 

प्रतियोगितामा सहभागी टिमहरूका लागि पोखरा महानगरपालिका–२६ लामाचौरस्थित घोस्ते खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको एन्फाले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यु–१९ महिला फुटबल प्रतियोगिता पोखरा रंगशालामा आयोजना हुने भएपछि पूर्वाधार सुधारका काम पनि तीव्र रूपमा अघि बढाइएको छ।

 

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङका अनुसार प्रतियोगिताका लागि फुटबल मैदान मर्मत, खेलाडीका लागि चेन्जिङ रुम, प्लेयर बक्स निर्माण तथा मैदानमा दुबो उमार्ने लगायतका काम भइरहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...