एकराज गिरी/पोखरा। विश्वका चर्चित सहरहरूको नाममा आयोजना गरिने सिटि म्याराथनकाे अवधारणाअनुरूप सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गर्दै खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरा म्याराथन सञ्चालन हुँदै आएको छ। हरेक वर्ष फागुन महिनाको पहिलो साताको शनिबार आयोजना हुने पोखरा म्याराथन यस वर्ष फागुन २ गते (शनिबार) सम्पन्न हुने आयाेजक नेपाल भूतपूर्व खेलाडी मन्चले जनाएकाे छ ।

२०औँ संस्करणको म्याराथनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न २८ वटा उपसमिति गठन गरी अन्तिम तयारी पूरा भएको आयोजक समितिले आज पाेखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे । यस वर्ष अघिल्ला १४ क्याटेगोरीमा ७ वटा थप गर्दै कुल २१ क्याटेगोरी समावेश गरिएको छ। जसमा ४२.१९५ किमि म्याराथन (राष्ट्रिय तथा प्रदेशस्तरीय), हाफ म्याराथन, १० किमि दौड, ५ किमि दौड, विद्यालयस्तरीय दौड, भेट्रान्स, कर्पोरेट दौड तथा रन फर फन समावेश छन्।
यस वर्ष २१ वटा स्पर्धामा ७६ जना विजेता खेलाडीलाई कुल नगद १९ लाख ८९ हजार वितरण गरिनेछ। म्याराथनतर्फ प्रथम हुनेले रु. ४ लाख, द्वितीयले रु. २ लाख, तृतीयले रु. १ लाख प्राप्त गर्नेछन् भने चौथोदेखि आठौँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, दौड पूरा गर्ने सबै खेलाडीलाई ३,७०० फिनिसर मेडल प्रदान गरिने आयाेजक भूतपूर्व खेलाडी मञ्चका सचिव महेश पाैडेलले जानकारी दिए ।
पोखरा म्याराथनमा विभिन्न क्याटेगोरीमा कुल ३,५०६ जना खेलाडी दर्ता भएका छन् भने रनफरफनमा करिब ६,७०० जना सहभागी हुने अनुमान गरिएको छ। यसरी कुल सहभागिता संख्या १०,२०६ पुग्ने सचिव पौडेलले जानकारी दिए।
भूतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथनको गरिमा अभिवृद्धि तथा खेलकुदमार्फत पोखराको पर्यटन प्रवर्द्धनका लागि प्रचार–प्रसारमा सहयोग गर्न सबै सरोकारवालासँग अनुरोध गरेको छ। फागुन २ गते हुने २०औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई उत्सवका रूपमा सफल बनाउन बिहान पोखरा रङ्गशालाबाट सुरु हुने मर्निङ वाक मा सहभागिता जनाउन अध्यक्ष दिलबहादुर गुरुङले आग्रह गरेका छन्