एकराज गिरी /पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथन व्यवस्थापकीय कमजोरीका कारण अव्यवस्थित बनेको छ। दौड सुरु हुने क्रममा भीड नियन्त्रण प्रभावकारी नहुँदा बालबालिका लड्न पुगेका छन्। सहभागीको संख्या अत्यधिक हुँदा सुरुवातमै धकेलाधकेल भएको थियो। पछाडिबाट धकेलिँदा केही विद्यार्थी लडेका थिए भने भीडले कुल्चिँदै अघि बढ्दा थप जोखिम उत्पन्न भएको प्रत्यक्षदर्शीले बताएका छन्।
बालबालिका लडेको देखेपछि पोखरा महानगरपालिका–७ का वडा अध्यक्ष राममोहन आचार्य, वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाँ तथा एक प्रहरी जवानले उनीहरूलाई भीडबाट सुरक्षित रूपमा उठाएका थिए।

अव्यवस्थाको असर उद्घाटन समारोहसम्म पुगेको थियो। म्याराथन उद्घाटन गर्न पुगेका पोखराका मेयर धनराज आचार्यसमेत भीडका कारण लड्न पुगेका थिए। उनलाई सामान्य चोट लागेको र सोही कारण पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन नसकेको आयोजकले जनाएको छ।
भिडियाे
आयोजक संस्था भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष तेजबहादुर गुरुङ भने मेयर साहले लडेका सहभागीलाई उठाउने क्रममा खुट्टामा सामान्य चोट लागेका कारण पुरस्कार वितरण कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।
त्यसैगरी, आयोजकले निर्माण गरेको सुरुवाती (स्टार्टिङ) गेट समेत ढल्न पुगेको थियो। फलामले बनेको उक्त गेट ढल्न लागेपछि नजिकै रहेका व्यक्तिहरू र स्वयंसेवकहरूले समातेका कारण ठूलो दुर्घटना टरेको थियो। गेट पूर्ण रूपमा ढलेको भए धेरै जना घाइते हुने तथा मानवीय क्षति हुन सक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भएकाले सुरक्षा र व्यवस्थापनलाई उच्च प्राथमिकता दिनुपर्नेमा पटक–पटक कमजोरी दोहोरिँदै आएको स्थानीयको गुनासो छ। पोखरा म्याराथन २०औँ संस्करणमा पुगिसक्दा पनि विगतका कमीकमजोरी सुधार गर्ने प्रभावकारी प्रयास नदेखिएको टिप्पणी गरिएको छ।
कार्यक्रम आयोजना गर्नु मात्र सफलता नभई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्नु नै मुख्य जिम्मेवारी हो। आगामी दिनमा यस्ता कमजोरी नदोहोरिने गरी आयोजकले व्यवस्थापनमा गम्भीर सुधार गर्नुपर्ने देखिन्छ।