पोखरा, चैत । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा पोखरामा दोस्रो पोखरा ओपन एथलेटिक्स मिट–२०२६ तथा चौथो राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ। प्रतियोगिता यही चैत २८ देखि ३० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्वान्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार पोखरा ओपन एथलेटिक्स मिटतर्फ देशभरबाट करिब ३०० खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरूसँगै नेपाल आर्मी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विभागीय टोलीका खेलाडीहरू पनि प्रतिस्पर्धामा उत्रिनेछन्, जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिपमा सातै प्रदेशबाट १० पुरुष र १० महिला गरी १४० खेलाडी सहभागी हुनेछन्। प्रशिक्षक तथा व्यवस्थापकसहित कुल १५४ जनाको सहभागिता रहने जनाइएको छ। प्रतियोगिता नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघको समन्वयमा सञ्चालन हुनेछ।
पोखरा ओपन एथलेटिक्स मिटतर्फ पुरुष र महिला गरी जम्मा ३० विधामा प्रतिस्पर्धा हुनेछ भने यू–२० च्याम्पियनसिपतर्फ पुरुष र महिला गरी २४ विधामा खेल सञ्चालन गरिनेछ।
पोखरा ओपन एथलेटिक्स मिटतर्फ प्रत्येक विधाका विजेताले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेबापत क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, यू–२० च्याम्पियनसिपतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियाेगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष गजबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगिताका लागि ऊर्जा साझेदारका रूपमा रेड बुल रहेको छ। एसोसिएट प्रायोजकमा योरस् ट्रेनिङ सेन्टर, ग्याट्स ट्रेनिङ सेन्टर तथा कफी दे हिमालयाज रहेका छन्। न्यूट्रिसन पार्टनरका रूपमा सफल दूध (सुजल डेरीको उत्पादन), इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक तथा हाइड्रेसन पार्टनरमा सोल्टी वाटर रहेका छन्।
आयोजकका अनुसार प्रतियोगिता व्यवस्थित, निष्पक्ष र उच्चस्तरीय बनाउन आवश्यक प्राविधिक जनशक्ति, उपकरण, खेलमैदान व्यवस्थापन तथा आवास लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको छ। यस प्रतियोगिताले एथलेटिक्स खेलको प्रवर्द्धन गर्दै युवाहरूको सहभागिता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कास्की जिल्ला एथलेटिक्स संघले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, साझेदार तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गर्दै पत्रकार तथा आम दर्शकलाई प्रतियोगिता अवलोकन गर्न हार्दिक आमन्त्रण गरेको छ।
प्रतियोगिता संयोजक सिद्धान्त अधिकारीले सबैलाई सहयोग र सहभागिताका लागि अनुरोध गरेका छन्।