पोखरा, असार ३१ – म्याग्दीको रघु भगवती युवा क्लबको आयोजनामा पोखरामा सुलभ प्रिजेन्ट्स ३×३ खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ।

क्लबले सामाजिक चेतना, अनुशासन, गतिशीलता, स्वाभिमान र विकासलाई मूल नाराका रूपमा अघि बढाउँदै पहिलो पटक म्याग्दी बाहिर खेलकुद कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। क्लबले यसअघि रघु भगवती मन्दिरमा कोट पूजा, वडा दशैंमेला सञ्चालन तथा विभिन्न सामाजिक कार्य गर्दै आएको उल्लेख गरेको छ।
प्रतियोगिता साउन २ गते पोखरा रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ। प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ ५ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। तनहुँ, कास्की, म्याग्दी, काठमाडौं र पर्वतलगायत जिल्लाका खेलाडीहरूले प्रतिस्पर्धामा भाग लिनेछन्।
पुरुषतर्फ विजेताले ४२ हजार २२२ रुपैयाँ, ट्रफी, मेडल र गिफ्ट ह्याम्पर तथा उपविजेताले २२ हजार २२२ रुपैयाँ, ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। महिलातर्फ विजेताले २५ हजार २२२ रुपैयाँ तथा उपविजेताले १५ हजार २२२ रुपैयाँ सहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्ने व्यवस्था गरिएको प्रतियोगिता संयोजक सुलभ मल्लले जानकारी दिएका छन्।
आयोजकका अनुसार प्रतियोगितामार्फत खेलकुदको माध्यमबाट युवाबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि हुने अपेक्षा गरिएको छ।