पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ हर्कमेयर चोकमा सडकको नालीबाट आएको भलले बगाउँदा आमा–छोरी घाइते भएका छन् ।

शुक्रबार करिब ४ बजे बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटर हर्कमेयर चोकमा साइड लगाएर झर्ने क्रममा सडक नालीको पानीको भलले पोखरा–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहाललाई बगाएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC), कास्कीले जनाएको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको टोली घटनास्थलमा पुगेको थियो । स्थानीयको सहयोगमा उनीहरूलाई पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट करिब १६ः२३ बजे उद्धार गरिएको हो ।
उद्धारपछि दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । दुवैको बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते सुष्माका श्रीमान् ३० वर्षीय कमल दाहाल उपचारमा संलग्न छन् । सुष्माका बुबा गिरिप्रसाद दाहाल पनि अस्पतालमा रहेका छन् ।