पोखरा, भदौ १७ गते । पोखरा महानगरपालिकाका छुट्टाछुट्टै चार स्थानमा गएको पहिरोेमा पुरिएर चार जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । त्यस्तै पहिरो परेर पाँच जना घाइते भएका छन् ।
बुधबार साँझ परेको भिषण वर्षासंगै पोखरा महानगरपालिका वडा नम्वर २० भलामको र्यालेचौर, पोखरा महानगरपालिका वडा नम्वर १० भञ्ज्याङ नमुना टोल र पोखरा ११ काहुँमा गएको पहिरोमा परेर चार जनाको मृत्यु भएको हो भने तीन जना बेपत्ता भएका हुन् ।
पोखरा महानगर वडा नम्वर २० भलाम र्याले चौरमा एक जना र सोही वडाको मुलाबारीमा पहिरोले घर पुरिदाँ दुई जना बेपत्ता रहेको पोखरा महानगर २० का अध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो । त्यस्तै महानगरकै वडा नम्वर ११ को काहुँमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ ।
पोखरा २० भलाममा ब्लकले बनेको एक तले घर पहिरोले पुर्दा घरधनी ४५ वर्षीय कृष्णकुमार श्रेष्ठ, उहाँकी पत्नी ३५ वर्षीया सुनुमाया तामाङ श्रेष्ठको मृत्यु भएको छ । कृष्णकुमारको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्प्तालमा र सुनुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठकै ९ वर्षीय छोरा राजकुमार श्रेष्ठको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन् ।
टाउकोमा चोट लागेका राजकुमारको उपचार भैरहेको र अवस्था मध्यम रहेको छ भने बेपत्ता सन्तोषको हाल खोजी कार्य भैइरहेको कास्की प्रहरी प्रवत्ता डिएपी सुभाष हमालले जानकारी दिभयो । पोखरा २० भलामस्थित टाउके स्वारा माथिको जंगलबाट रैकर, गिधारी खोर हुदै र्यालेचौरसम्म करिव सात सय मिटर क्षेत्रमा पहिरो खसेको कास्की प्रहरीले जनाएको छ ।
यता वर्षाकै कारण घर पछाडिबाट पहिरो आउँदा पोखरा १० रामबजारमा भञ्ज्याङ नमुना टोल स्थित ४२ वर्षीय लक्ष्य नेपालीको ब्लकले बनेको घर भत्कँदा नेपालीको मृत्यु भएको छ।
घटनापछि नेपालीलाई उद्धार गरी उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लागिएकोमा राति १ ः २८ मा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी हमालले जानकारी दिनुभयो ।
घटनामा नेपालीकी १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भई मणिपालमा उपचार भएकोमा बिहान ५ बजे डिस्चार्ज भएको प्रवक्ता हमालले बताउनुभयो। नेपालीकी श्रीमती र २ छोराहरूलाई सकुशल उद्धार गरी पोखरा ११ फूलबारी स्थित मामाको घरमा पठाइएको प्रहरीले जनाएको छ ।
यता पोखरा ११ बसेरीका एकदेव तिमिल्सिना, उहाँकी श्रीमती ३८ वर्षीया रितु तिमिल्सिना र छोरा १९ वर्षीय गिरीष तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोमा परि पोखरा ११ बसेरीमा एक घर पुरिदा एकदेव तिमिल्सिना, उहाँकै श्रीमति रितु र शिरिष तिमिल्सिना घाइते हुनुभएको छ ।