काठमाडौं, भदौ २० गते । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनकाे लागि भदौ १८ गते ३५ जिल्लाहरुमा वडा अधिवेशन शुरू भएकाे थियो । भदौ १९ गते झापा र मुस्ताङ गरी दुई जिल्लाहरुमा वडा अधिवेशन सम्पन्न भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभएको छ । भदौ २० गते आइतबार दाङ जिल्लामा गरी हालसम्म जम्मा ३८ जिल्लाहरुको वडा अधिवेशन सम्पन्न भएको यादवले बताउनुभयो ।
भदौ २१ गते एघार जिल्लाहरुमा वडा अधिवेशन सुरु हुने पनि उहाँले बताउनुभएको छ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको क्रियाशील सदस्यहरुको नामावली पार्टीको आधिकारिक वेबसाइटमा प्रकाशन गरेको छ भने क्रियाशील सदस्यता सम्बन्धमा विवाद नटुंगिएको जिल्लाहरुमा सहमति गर्दै वडा अधिवेशन सम्पन्न पनि गर्दै जाने बताइएको छ ।
आगामी मंसिर ९ देखि १३ गतेसम्ममा चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी भदौ २६ गतेसम्ममा देशैभरको वडा अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।