पोखरा, असोज १ गते । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका उल्लेखनिय रहेको बताउनुभएको छ । शुक्रबार पोखरा १६ बाटुलेचौरस्थित मातृशिशु मेतरी अस्पतालको प्रयोगशालाको थप सेवा विस्तारको उदघाटन गर्दै मन्त्री थापाले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्ने गरी अस्पतालले गरेका कार्यहरुको प्रंशसा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘छोटो समयमा मातृशिशु मितेरी अस्पतालले स्वास्थ्यको क्षेत्रमा गरेका कामहरु प्रंशसा गर्न लायक छन् । नयाँ नयाँ प्रविधिको जडान गरी प्रयोगशाला मार्फत जनतालाई शिघ्र स्वास्थ्य सेवा दिने लक्ष्य अस्पतालको महत्वपूर्ण छ ।’
मन्त्री थापाले गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पहलमा निर्माण भएको मातृशिशु मितेरी अस्पताल अहिले आएर प्रदेशकै गौरव अस्पतालको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले मातृशिशु मितेरी अस्पताल गण्डकी प्रदेशको मातहतमा संचालन भइरहेको र थप व्यवस्थित बनाउनुपर्ने जिम्मेबारी पनि सरकारको रहेको बताउनुभयो ।
मन्त्री थापाले अस्पतालको भौतिक संरचनाको विकास सँगै थप जग्गा प्राप्तिका लागि पहलकदमी गर्ने बताउनुभयो । ‘जग्गा प्राप्तिका विषयमा पहिले नै कुरा उठेको हो । त्यसको समाधान हालसम्म हुन सकिरहेको छैन । थप भौतिक पूर्वाधार निर्माण समेत गर्नुपर्ने आवश्यकता देखिन्छ । यसका लागि मेरो पहलकदमी रहनेछ ।’,उहाँले भन्नुभयो ।
गण्डकी प्रदेश सरकारका सांसद कृष्ण थापाले मातृशिशु मितेरी अस्पतालको निर्माणमा हालसम्म १८ करोड लगानी भएको जानकारी गराउनुभयो । उहाँले अब अस्पतालमा एक सय बेडको व्यवस्थापन गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो । मातृशिशु मितेरी अस्पतालमा नर्सिङ कलेजको स्थापना गरी शिशु र आमाको उपचार सेवामा थप टेवा पुर्याउनुपर्ने आवश्यकतालाई सांंसद थापाले औंल्याउनुभएको छ ।
अस्पतालको व्यवस्थापन समितिकी अध्यक्ष उषा बरुवालले मातृशिशु मितेरी अस्पतालमा आमा र नवजात शिशुको उपचार गरिने जानकारी गराउनुभयो । हाल ५५ बेड मार्फत निशुल्क रुपमा विरामीको उपचार भइरहेको भनाई उहाँको छ । ‘२० बेडको कोभिड वार्डको व्यवस्थापन गरी निशुल्क उपचार दिइरहेका छौं’,उहाँले भन्नुभयो,‘अब दन्त रोग सेवालाई समेत विस्तार गरिनेछ ।’
कार्यक्रममा पोखरा १६ का वडाअध्यक्ष जीवन आचार्य, वरिष्ठ इन्जिनियर महेन्द्र गोदार र शारदा मोहन काफ्ले लगायतको उपस्थिति थियो ।