चिनीको अभाव भनेर हल्लाका पछि लागेर अनावश्यक ‘होल्ड’ नगर्न आग्रह

काठमाडौँ, असोज १२ गते । सरकार र उद्योगी व्यापारीहरूले बजारमा पर्याप्त चिनी मौज्दात रहेको जानकारी दिएका छन् । बजारमा चिनीको अभाव भनेर हल्लाका पछि लागेर अनावश्यक ‘होल्ड’ नगर्नसमेत आमउपभोक्तालाई आग्रह गरेका छन् ।


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार राजधानीमा आयोजना गरेको ‘बजार अनुुगमन र सरोकारवालाको भूमिका’ विषयक छलफलमा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले सोबारे जानकारी दिनुुभएको हो । उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयका सचिव दिनेश भट्टराईले बजारमा हाल लगभग एक लाख मेट्रिक टन चिनी मौज्दात रहेको जानकारी गराउनुुभयो । उहाँले भन्नुुभयो, “नेपालको वार्षिक दुुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकामा अझै एक लाख चिनी मौज्दात रहेको छ । अनि कसरी अभाव हुन्छ भनी प्रश्न गर्नुभयो । ”

सचिव भट्टराईका अनुसार नेपालमा वार्षिक उपभोगका लागि एक लाख मेट्रिक टन खपत हुने गरेको छ भने बाँकी डेढ लाख मेट्रिक टन अन्य व्यवसायी प्रयोजनका लागि खपत हुन्छ । अघिल्लो आर्थिक वर्ष दुुई लाख १२ हजार मेट्रिक टन चिनी आर्यात भएको थियो भने सो अवधिमा स्वदेशी उद्योगीले उत्पादन गरेकोसमेत गरी तीन लाख ५७ हजार मेट्रिक टन चिनी रहेको तथ्याङ्क छ ।चालू आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा १७ हजार मेट्रिक टन र हाल १० हजार मेट्रिक टन आउने पाइपलाइनमा भएको मन्त्रालयले जानकारी दिएको छ । सचिव भट्टराईले सरकारले स्वच्छ बजार कायम गर्नका लागि पछिल्लो पटक व्यवस्थित रूपमा अनुुगमन गरिरहेको जानकारी दिनुुभयो । चाडपर्वमा बजारमा खाद्यवस्तु, लत्ताकपडाको बढी कारोबार हुने भएकाले यसमै लक्षित गरेर अनुुगमन तीव्रता दिएको पनि उहाँको भनाइ छ ।

विभागका महानिर्देशक प्रकाश पौडेलले बजारमा सरकारले चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न, लत्ताकपडा र सवारीसाधनमा अनुगमन बढी केन्द्रित गरेको जानकारी दिनुुभयो । उहाँले चाडपर्वमा हुनसक्ने कृत्रिम अभाव, मूल्य वृद्धि, मिसावट, म्याद नाघेका सामान बिक्री नियन्त्रण गर्नका लागि अनुगमनलाई तीव्र बनाएको जानकारी दिनुुभयो ।कार्यक्रममा उपभोक्ता अधिकारकर्मीले बजारमा विभिन्न बहाना बनाएर उपभोक्ता ठगी गर्ने क्रम चाडपर्वमा झन् बढेकाले यसमा विशेष निगरानी बढाउन आग्रह गर्नुभयो ।उद्योग तथा व्यापारीका प्रतिनिधिहरूले बजारमा पर्याप्त सामान भएकाले नआत्तिन आमउपभोक्तालाई आग्रह गर्नुुभयो ।साथै उहाँले सरकारले चाडपर्वमा मात्रै बजार अनुुगमन गरेर व्यापारीलाई तर्साउनेभन्दा सधैँ बजार अनुुगमन गरेर स्वच्छ बजार कायम गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...